जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने, ६०४ किलोमिटरको दूरी रेलबाट जोडिँदै

काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ। नयाँ रेल सेवाले माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् रामको जन्मस्थल अयोध्यालाई रेलमार्गबाट जोड्नेछ।

भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो। करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ।

उक्त रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ। रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछन्।

रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी साप्ताहिक सेवा सञ्चालन गरिनेछ।

मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै यी दुई धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ।

भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले दुवै देशका नागरिक तथा धार्मिक पर्यटकबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

यसअघि गत जुन महिनामा पनि भारत र नेपालबीच जनकपुर–अयोध्या खण्डसहित सीमापार रेल सम्पर्क विस्तार तथा यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा छलफल भएको द हिन्दूले जनाएको छ।

नयाँ रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन, तीर्थयात्रा तथा दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
30 Shares