मिथिलामा छठको उल्लास, आज श्रद्धा र भक्तिपूर्वक खरना विधि गरिँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा लोकआस्थाको महापर्व छठको उल्लास छाएको छ। चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज शनिबार बर्तालुहरूले श्रद्धा, निष्ठा र भक्तिभावका साथ खरना विधि गर्दैछन्।

पर्वको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चतुर्थीका अवसरमा बर्तालुहरूले पवित्र स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए। यससँगै उनीहरूले छठ व्रतको सङ्कल्प गरेका थिए।

छठ पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा बर्तालुहरू बिहानै स्नान गरी दिनभरि निराहार उपवास बस्ने गर्छन्। साँझ सूर्यास्तपछि चन्द्रदर्शन गरेर नयाँ माटोको चुलो र माटोकै भाँडामा सख्खर, दूध तथा स्थानीय जातको चामलबाट तयार पारिएको खीर छठी मातालाई अर्पण गरिन्छ। त्यसपछि उक्त खीर प्रसादका रूपमा बर्तालु र परिवारका सदस्यले ग्रहण गर्छन्। यही विधिलाई मैथिली भाषामा ‘खरना’ भनिन्छ।

खरना विधिका लागि तयार गरिने खीर केराको पातमा राखेर कुलदेवता तथा छठी मातालाई अर्पण गर्ने परम्परा छ। श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई छठ पर्वको मुख्य विशेषता मानिन्छ।

पर्वको तेस्रो दिन कात्तिक शुक्ल षष्ठीमा बर्तालुहरू दिनभरि निराहार व्रत बसेर साँझ जलाशय तथा नदी किनारमा निर्माण गरिएका आकर्षक घाटमा पुग्छन्। कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्छन्। मिथिलामा यस विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ।

त्यसैगरी, पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरेपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ। उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

अर्घ्यका क्रममा जटासहितको नरिवल, ठकुवा, भुसुवालगायत परम्परागत मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल सूर्यदेवलाई अर्पण गर्ने चलन छ। छठका लागि तयार गरिने प्रसाद इष्टमित्र तथा आफन्तलाई घरमै बोलाएर खुवाउने र नातेदारकहाँ पुर्‍याउने परम्परासमेत रहेको छ। यी परिकार परम्परागत रूपमा ढिकी–जाँतोमा कुटिएको तथा पिसिएको पिठोबाट तयार गरिन्छन्।

छठ पर्वका अवसरमा नदी, पोखरी तथा अन्य पवित्र जलाशयका किनारमा आकर्षक घाट निर्माण गरी सरसफाइ र सजावट गरिन्छ। यसले मिथिलाका गाउँबस्तीलाई उत्सवमय बनाएको छ।

केही वर्षअघिसम्म मुख्यतः मधेसी हिन्दू समुदायमा सीमित रहेको यो पर्व अहिले पहाडी हिन्दू समुदायमा समेत उत्तिकै लोकप्रिय बन्दै गएको छ। अझ विशेष कुरा, मिथिलामा मुस्लिम समुदायका व्यक्तिहरूले समेत छठ पर्वमा सहभागिता जनाउने र बर्तालुहरूमार्फत आफ्ना भाकल सूर्यदेवसमक्ष पुर्‍याउने गरेका छन्।

धर्म, संस्कृति र जातीय विविधताभन्दा माथि उठेर सबै समुदायको सहभागिता बढ्दै गएपछि छठ पर्व सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको प्रतीकसमेत बनेको छ।

भङ्गाहा नगरपालिका–५, सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादवका अनुसार सबै धर्म, संस्कृति र जातजातिका मानिस सहभागी हुने भएकाले छठ पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ। सबैको साझा आस्थाको पर्व बन्दै गएकाले यसलाई ‘लोकआस्थाको महापर्व’ भन्ने गरिएको उहाँ बताउनुहुन्छ।

Facebook Comments Box
सिट नपुगेपछि परिवारलाई गाडी चढाएर डेरामै फर्किएका अवधेशले गुमाए गर्भवती श्रीमतीसहित ६ आफन्त
१ दिन अगाडि

1.3kViews 30 Shares Share on Facebook Share on Twitter हेटौँडा । छठ पर्व मनाउन परिवारसहित सर्लाहीस्थित घर जाने तयारीमा रहेका…

TOP
30 Shares