वैदेशिक रोजगारीमा महिला : अवसर, सुरक्षा र सम्मानको खोजी

नानू घले । परिवारको आर्थिक जिम्मेवारी पुरुषको काँधमा मात्र सीमित रहने परम्परागत सामाजिक मान्यतालाई नेपाली महिलाहरूले पछिल्ला वर्षहरूमा तीव्र गतिमा बदलिदिएका छन्। आत्मनिर्भर बन्ने हुटहुटी र घरको आर्थिक अवस्था सुधार्ने अठोटका साथ विश्व श्रम बजारमा पाइला राख्ने नेपाली महिलाको संख्या बर्सेनि उकालो लाग्दो छ। वैदेशिक रोजगार बिभागको अभिलेख केलाउँदा हालसम्म करिब ६ लाखको हाराहारीमा नेपाली महिलाहरूले कानुनी प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएर विदेशको बाटो रोजेका छन्। आर्थिक वर्ष २०८१/८२ मा ९४ हजार ४ सय ५५ महिलाले श्रम स्वीकृति लिएका थिए भने आर्थिक वर्ष २०८२/८३ मा कुल ७ लाख ९२ हजार १ सय ८७ श्रम स्वीकृति जारी हुँदा महिलाको हिस्सा झन्डै १२ प्रतिशत अर्थात् ९५ हजार ९१ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को तथ्याङ्कले पनि यही बढ्दो क्रमलाई पुष्टि गर्छ। २०८३ असोजमा मात्रै १० हजार ३ सय ८८ र कात्तिक महिनामा ९ हजार ५ सय १३ महिलाले औपचारिक रूपमा श्रम स्वीकृति लिएर गन्तव्य मुलुकतर्फ प्रस्थान गरेका छन्।

वैदेशिक रोजगारीको यो लहरले नेपाली महिलाको जीवनस्तर र सामाजिक हैसियतमा देखिने गरी सकारात्मक परिवर्तन ल्याएको छ। परदेशको पसिनाबाट भित्रिएको विप्रेषणले ग्रामीण तथा सहरी क्षेत्रका हजारौँ परिवारको चुलो बलेको छ भने बालबालिकाको गुणस्तरीय शिक्षा र परिवारको स्वास्थ्य उपचारमा ठूलो टेवा पुगेको छ। केवल आर्थिक आर्जन मात्र होइन, विभिन्न मुलुकको आतिथ्य सत्कार, सेवा क्षेत्र, केयरगिभर तथा उद्योगहरूमा काम गर्दा महिलाहरूले आधुनिक सीप, कार्यसंस्कृति र आत्मविश्वाससमेत आर्जन गरेका छन्। आफ्नै कमाइमा उभिन सक्ने भएपछि घरपरिवार र समाजका निर्णय प्रक्रियामा महिलाको आवाज बलियो बन्दै गएको छ, जुन महिला सशक्तीकरणको एक महत्वपूर्ण आयाम हो।

तर, अवसरका यी उज्याला दृश्यहरू पछाडि सुरक्षा चुनौतीका गहिरा धर्साहरू पनि उत्तिकै छन्। विशेषगरी घरेलु कामदारका रूपमा जाने महिलाहरू भाषागत कठिनाइ, कार्यस्थलको एक्लोपन र कानुनी सचेतनाको अभावका कारण श्रम तथा शारीरिक शोषणको जोखिममा पर्ने गरेका छन्। राज्यले कतिपय मुलुकमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्धले समस्या समाधान गर्नुको साटो झन् जटिल बनाएको छ; जसका कारण दलालहरूको प्रलोभनमा परी भिजिट भिसा वा अवैध बाटो हुँदै विदेशिने महिलाको संख्या घटेको छैन। अनौपचारिक माध्यमबाट जाँदा उनीहरू राज्यको अभिलेखबाट बाहिर रहन्छन् र गन्तव्य मुलुकमा अप्ठ्यारो पर्दा कानुनी उपचार तथा तत्काल उद्धार पाउनबाट वञ्चित हुन्छन्।

महिलाको वैदेशिक रोजगारीलाई बाध्यता र जोखिमको यात्राबाट सुरक्षित र मर्यादित अवसरमा रूपान्तरण गर्न अब नीतिगत सुधार अपरिहार्य भइसकेको छ। निषेध र प्रतिबन्धको नीति त्यागेर गन्तव्य मुलुकहरूसँग स्पष्ट द्विपक्षीय श्रम सम्झौता गर्नु र महिला कामदारको न्यूनतम पारिश्रमिक तथा सुरक्षाको ग्यारेन्टी गर्नु राज्यको पहिलो दायित्व हो। विदेश उड्नुअघि सम्बन्धित देशको भाषा, कानुन र सीपसम्बन्धी व्यावहारिक तालिमलाई अनिवार्य बनाइनुपर्छ भने नेपाली दूतावासहरूलाई श्रमिकमैत्री र स्रोतसाधनयुक्त बनाउनुपर्छ। साथै, विदेशबाट सीप र पुँजी लिएर फर्किएका महिलाहरूलाई स्वदेशमै उद्यमशीलतामा जोड्ने ठोस कार्यक्रम ल्याउन सके मात्र उनीहरूको पसिनाको सही सम्मान र देशको दिगो आर्थिक समृद्धि सम्भव हुनेछ।

Facebook Comments Box
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
१ दिन अगाडि

1.5kViews 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट…

TOP
60 Shares