देशभर मौसममा मिश्रित प्रभाव: तराईमा तातो हावाको लहर, पहाडी र पूर्वी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर आज (असार ६) मौसममा उल्लेखनीय विविधता रहने मौसम पूर्वानुमान गरिएको छ। पश्चिम तराईका केही सहरहरूमा अत्यधिक गर्मीका साथ ‘तातो हावाको लहर’ (Heat Wave) चल्ने सम्भावना रहेको छ भने काठमाडौँसहित पहाडी तथा पूर्वी भेगका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान अनुसार आज दिउँसो पश्चिम तराईका सहरहरू नेपालगञ्ज र धनगढीमा अत्यधिक गर्मी रहनेछ। यी दुवै सहरमा तातो हावाको लहर चल्ने सम्भावना छ। तापक्रम पनि उच्च रहने अनुमान गरिएको छ—नेपालगञ्जमा अधिकतम ३९ देखि ४१ डिग्री सेल्सियस र धनगढीमा ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने उल्लेख छ।

यसैगरी वीरेन्द्रनगर, घोराही, भैरहवा, सिमरा र जनकपुरमा पनि आज दिउँसोको मौसम तातो रहने पूर्वानुमान छ। रातिको समयमा भने यीमध्ये अधिकांश सहरहरूमा मौसम मुख्यतया सफा रहनेछ। तर सिमरा र जनकपुरमा राति मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

अर्कोतर्फ देशका धेरैजसो पहाडी तथा पूर्वी भूभागका सहरहरूमा वर्षाको सम्भावना देखिएको छ। आज दिउँसो पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशतसम्म रहेको छ।

त्यसैगरी डडेल्धुरा, दिपायल र जुम्लामा आज दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान र ताप्लेजुङलगायतका सहरहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा निरन्तर रहने सम्भावना छ। जोमसोम, डडेल्धुरा, दिपायल र जुम्लाको मौसम भने राति आंशिक बदली रहनेछ।

रातिको समयमा जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम १४ देखि १६ डिग्री सेल्सियस रहनेछ भने सबैभन्दा बढी न्यूनतम तापक्रम नेपालगञ्जको २८ देखि ३० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

Facebook Comments Box
TOP
325 Shares