आज र भोलि देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। ती क्षेत्रमा आगामी केही समय थप वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

महाशाखाले आज र भोलि मनसुनी गतिविधि थप सक्रिय हुने जनाएको छ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै, यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना बढेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, सहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Facebook Comments Box
TOP
258 Shares