देशभर मनसुनी प्रभाव जारी, केही स्थानमा भारी वर्षाको सम्भावना—सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको क्रम जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका विभिन्न स्थान तथा देशका पहाडी भूभागका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाइएको छ ।

बिहीबार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद्का अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, भूक्षय तथा नदी–खोलामा पानीको सतह बढ्ने जोखिम रहेको छ । यसैबीच, ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Facebook Comments Box
TOP
265 Shares