प्रमुख सञ्चारगृहमा अवरोधप्रति नेपाली कम्युनिस्ट पार्टीको आपत्ति, निष्पक्ष अनुसन्धान र कारबाहीको माग

काठमाडौं । प्रमुख सञ्चारगृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन राखी सञ्चार संस्थाको नियमित काममा अवरोध पुर्‍याइएको घटनाप्रति नेपाली कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीले उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गर्दै तत्काल रोक्न सरकारसँग माग गरेको छ।

पार्टी प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि हुने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा सञ्चारमाध्यमलाई त्रसित बनाउने, दबाबमा राख्ने वा सत्य तथ्य सार्वजनिक गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रयास लोकतन्त्रविरोधी मानसिकताको परिणाम भएको दाबी गरिएको छ। सञ्चार क्षेत्रले सुकुमवासी, मिटरब्याजपीडित, सहकारीपीडित, बेरोजगार युवा, भ्रष्टाचार, कुशासन तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै पार्टीले सञ्चार संस्थालाई लक्षित गर्ने गतिविधि गम्भीर विषय भएको जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले राज्य संयन्त्र संविधान, कानुन र विधिको शासनअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। बहुमत प्राप्त सरकारले समेत संविधान र लोकतान्त्रिक मूल्यभन्दा माथि जान नसक्ने उल्लेख गर्दै पार्टीले सरकारको आलोचना गर्ने आवाज दबाउने वा राज्यका कमजोरी ढाकछोप गर्ने उद्देश्यले प्रेसमाथि दबाब सिर्जना गरिए त्यो लोकतान्त्रिक प्रणालीकै विरुद्ध हुने चेतावनी दिएको छ।

विज्ञप्तिमा नेपाली प्रेसको इतिहास लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्षपूर्ण रहेको स्मरण गर्दै धम्की, त्रास र दमनबाट पत्रकारिता नझुक्ने दाबी गरिएको छ।

पार्टीले सञ्चारगृहमा अवरोध पुर्‍याइएको घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

Facebook Comments Box
TOP
229 Shares