

बेरोजगारीको पीडाले विवेक यादवको आत्मदाह प्रयास, उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा निधन
काठमाडौँ । सर्लाहीका विवेक यादवको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत यादवको राति करिब २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए ।
शुक्रबार सर्लाहीबाट हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका यादवलाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । उनले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए ।
परिवारका अनुसार बायोलोजी विषयमा एमएस्सी गरेका विवेक विगत एक वर्षदेखि मानसिक तनावमा थिए । उनी सर्लाहीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गर्दै आएका थिए । विद्यालय प्रशासनले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी रोजगारीविहीन बनेका थिए ।
विवेककी भाउजू शान्तिदेवी मण्डलका अनुसार एक वर्षदेखि घरमै बस्दै आएका विवेक बेरोजगारीका कारण तनावमा थिए । उनले भनिन्, “एक वर्षदेखि घरमै बस्नुभएको थियो । मानसिक तनाव लिन थाल्नुभएको थियो । शुक्रबार दिउँसो करिब १२ बजे सिसौटिया बजारचोकमा अचानक आत्मदाहको प्रयास गर्नुभयो ।”
शिक्षित युवा समेत रोजगारीको अभाव र बढ्दो मानसिक दबाबका कारण चरम कदम चाल्न बाध्य हुनु गम्भीर सामाजिक चुनौतीका रूपमा देखिएको छ । विवेकको घटनाले बेरोजगारी, मानसिक स्वास्थ्य र युवाको भविष्यप्रति राज्यको ध्यान पुनः केन्द्रित गराएको छ ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२४ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





