प्रतिनिधिसभा बैठक आज : विभिन्न वार्षिक प्रतिवेदन पेस हुँदै, दुई विधेयक समितिमा पठाउने तयारी

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन पेस तथा विधेयकमाथिको प्रक्रिया अघि बढाउने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२’ सदनसमक्ष पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, बैठकमा ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/०८२’‘लोक सेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म)’ पनि प्रस्तुत गरिनेछ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री शाहको तर्फबाट कानुनमन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट प्रस्तुत हुने प्रतिवेदन र विधेयकहरूले कानुनी सुधार तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषयलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

Facebook Comments Box
TOP
485 Shares