अध्ययन बिदा दुरुपयोग गर्नेबाट त्रिविले १३ करोडभन्दा बढी रकम असुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किने प्राध्यापक तथा कर्मचारीबाट रकम असुल्ने अभियानलाई तीव्र बनाएको छ। विश्वविद्यालयका अनुसार हालसम्म ६२ जना प्राध्यापक तथा कर्मचारीबाट १३ करोड ४८ लाख रुपैयाँ फिर्ता असुल गरिएको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक सहप्राध्यापक जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेपछि ११२ जनाले सम्पर्क गरेका भए पनि धेरैजना अझै सम्पर्कमा आएका छैनन्। त्रिविको छानबिनमा १९१ भन्दा बढी शिक्षक–कर्मचारी अध्ययन बिदा लिएर सेवामा नफर्किएको र २०० भन्दा बढीले अध्ययन पूरा नगरेको तथ्य फेला परेको छ। विश्वविद्यालयको अनुमानअनुसार विदेश गएर नफर्किनेको संख्या साढे २ सयभन्दा बढी पुगेको छ।

त्रिविले सम्पर्कमा नआउने तथा रकम फिर्ता नगर्नेहरूमाथि कानुनअनुसार कारबाही अघि बढाइने जनाएको छ। अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयलाई डेढ अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुगेको अनुमान गरिएको छ। साथै, भविष्यमा यस्ता घटना रोक्न अध्ययन बिदा व्यवस्थापनलाई थप कडाइका साथ कार्यान्वयन गर्ने विश्वविद्यालयले जनाएको छ।

Facebook Comments Box
TOP
222 Shares