मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक, कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले बीउबिजन पहिलो संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बलको खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षका रूपमा महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरिएको छ। साथै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

Facebook Comments Box
TOP
Shares