अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, कतिपय पूर्ण त कतिपय एकतर्फी सञ्चालन

काठमाडौँ । देशभर निरन्तर भइरहेको वर्षाका कारण बाढी र पहिरोले विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशमा इलामस्थित मेची राजमार्गको राजदुवाली खण्ड र उदयपुरको कटारी क्षेत्रमा पर्ने सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। मेची राजमार्गमा भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा बाढी र पहिरोको प्रभाव सबैभन्दा बढी देखिएको छ। मकवानपुरको भीमफेदी तथा हेटौँडा–ठिङ्गन क्षेत्रमा पर्ने कान्ति लोकपथका दुई स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी खण्ड अन्तर्गत अरनिको राजमार्ग पनि पहिरोका कारण बन्द रहेको छ। त्यस्तै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रे खण्डको बीपी राजमार्गमा सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको छ।

लुम्बिनी प्रदेशमा अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीस्थित कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीस्थित नयाँपुल–घान्द्रुक सडक तथा बागलुङको मध्य पहाडी लोकमार्गमा पहिरो खसेपछि सवारी साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्। यस्तै, कर्णाली प्रदेशको जाजरकोट–डोल्पा सडक खण्ड पनि पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा रहेको छ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था परिवर्तन भइरहन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box
TOP
162 Shares