सिंहदरबार अगाडिको प्रदर्शनबाट अनेरास्ववियु अध्यक्ष धामीसहित ७ विद्यार्थी नेता पक्राउ

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जना विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँका विभिन्न मिडिया हाउसका गेट तथा सडक क्षेत्रमा हुने शंकास्पद पार्किङको विरोध गर्दै अनेरास्ववियुले बुधबार बिहान सिंहदरबार अगाडि आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अनेरास्ववियु नेता गोपाल नेपालका अनुसार पक्राउ पर्नेहरूमा केन्द्रीय अध्यक्ष दीपक धामी, अनेरास्ववियु निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सिरिस बुढा रहेका छन्।

अनेरास्ववियुले शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ। संगठनले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

अनेरास्ववियुले विद्यार्थीको लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै आफ्ना मागहरू सम्बोधन नभएसम्म संघर्ष जारी राख्ने चेतावनीसमेत दिएको छ।

Facebook Comments Box
TOP
132 Shares