

ट्रम्पको इरानलाई चेतावनी– ‘वार्तामा नआए पावर प्लान्ट र पुलहरू निशानामा पर्न सक्छन्’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्ताको टेबलमा आउन चेतावनी दिएका छन्। वार्तामा नआए इरानका विद्युत् उत्पादन केन्द्र (पावर प्लान्ट) तथा प्रमुख पुलहरूलाई समेत लक्षित गरी सैन्य कारबाही हुन सक्ने उनले बताएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले ऊर्जा पूर्वाधारमाथिको सम्भावित आक्रमण अन्तिम विकल्पका रूपमा रहेको उल्लेख गर्दै अमेरिकी वार्ताकारमार्फत उक्त सन्देश इरानलाई औपचारिक रूपमा पठाइसकिएको बताए। उनले वार्ता नभए आगामी दिनमा अझ कडा सैन्य कारबाही हुने चेतावनी दिएका छन्।
यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई तथा समुद्री कारबाही सञ्चालन गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (CENTCOM) ले लडाकु विमान, ड्रोन तथा नौसैनिक जहाज प्रयोग गरी होर्मुज जलडमरूमध्य आसपासका सैन्य लक्ष्यहरूमा आक्रमण गरिएको जनाएको छ। यद्यपि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (IRGC) ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको दाबी गरेको छ। साथै, अमेरिकी सैन्य गतिविधि जारी रहेसम्म होर्मुज जलडमरूमध्य बन्द रहने चेतावनी पनि दिएको छ। अमेरिकी पक्षले भने इरानको उक्त दाबीबारे तत्काल प्रतिक्रिया दिएको छैन।
यस घटनाक्रमसँगै मध्यपूर्वमा तनाव थप चर्किएको छ। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधारमा आक्रमण संवेदनशील विषय मानिने भएकाले यसले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा आपूर्तिमा असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
१ दिन अगाडि
2.1kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





