पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद

बागलुङ । पहिरो खसेपछि कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको पहिरोका कारण जैमिनी नगरपालिका–८ बेलबगरस्थित करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ भने बुटवलतर्फ जाने तथा आउने सवारीसाधन बेलबगरमै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको छ ।

उनका अनुसार पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । लगातार वर्षाका कारण पहिरो थप खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

Facebook Comments Box
TOP
376 Shares