भक्तपुरसहित विभिन्न ट्रायल सेन्टरमा बिचौलियाको चलखेल कायमै, सेवाग्राही ठगीको जोखिममा

काठमाडौं । भक्तपुरको राधेराधे ट्रायल सेन्टरसहित देशका विभिन्न सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल सेन्टरमा बिचौलियाको चलखेल अझै पनि रोकिएको छैन। सेवाग्राहीहरूका अनुसार ट्रायल परीक्षा दिन आएका नागरिकलाई महँगो शुल्क असुल्ने, अनावश्यक डर देखाउने र सेटिङको नाममा रकम उठाउने गतिविधि खुलेआम भइरहेको छ।

सेवाग्राहीहरूले ट्रायल अभ्यासका लागि उपलब्ध गराइने कतिपय सवारीसाधन पुराना तथा मर्मतसम्भार नभएका अवस्थामा रहेको गुनासो गरेका छन्। बिचौलियामार्फत अभ्यास गराउँदा प्रतिघण्टा अत्यधिक शुल्क लिने गरिएको र त्यसको प्रत्यक्ष मार सेवाग्राहीमाथि पर्ने गरेको उनीहरूको भनाइ छ।

यस्तै, ट्रायल सेन्टरभित्रका केही कर्मचारी र बिचौलियाबीच मिलेमतो रहेको आरोपसमेत उठेको छ। “पैसा बुझाए सहजै पास गराइदिन्छौं” भन्ने प्रलोभन देखाएर सेवाग्राहीबाट ठूलो रकम असुल्ने प्रयास हुने गरेको गुनासो बढ्दै गएको छ।

बिचौलियाहरूले ट्रायल परीक्षा अत्यन्त कठिन रहेको र सेटिङ नगरी पास हुन नसकिने भन्ने भ्रम फैलाएर सेवाग्राहीलाई आर्थिक रूपमा शोषण गर्ने गरेको आरोप पनि छ। यसले सरकारी सेवाप्रति नागरिकको विश्वास कमजोर बनाउनुका साथै पारदर्शिता र सुशासनमाथि प्रश्न उठाएको छ।

सरोकारवाला निकायले ट्रायल सेन्टरहरूमा हुने यस्ता गैरकानुनी गतिविधिको प्रभावकारी अनुगमन गरी बिचौलियामुक्त सेवा सुनिश्चित गर्नुपर्ने माग सेवाग्राहीहरूले गरेका छन्। साथै, लाइसेन्स लिन आउने सबैलाई कुनै पनि प्रकारको सेटिङ वा गैरकानुनी प्रलोभनमा नपरी तोकिएको प्रक्रिया र आफ्नै सीपका आधारमा परीक्षा दिन आग्रह गरिएको छ। यसबाट अनावश्यक आर्थिक भारबाट बच्नुका साथै सुरक्षित र जिम्मेवार चालक बन्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box
TOP
182 Shares