देशभर मनसुन सक्रिय : आज पनि भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तराई आसपास तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि निरन्तर रहने देखिएको हो।

महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार देशका पहाडी क्षेत्र, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

Facebook Comments Box
TOP
261 Shares