मिटरब्याजीमाथि सम्पत्ति शुद्धीकरण विभागको अप्रेसन, ठूला नाइके अनुसन्धानको घेरामा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकामा लामो समयदेखि मिटरब्याजको कारोबारमा संलग्न रहेको आरोप लागेका व्यक्तिमाथि व्यापक अनुसन्धान थालेको छ। विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकसँग समन्वय गर्दै ठूला मिटरब्याजीहरूको सम्पत्ति, आर्थिक कारोबार तथा आयस्रोतको छानबिन अघि बढाएको स्रोतले जनाएको छ।
उच्च स्रोतका अनुसार विभागले मिटरब्याजको कारोबारमा सक्रिय व्यक्तिहरूको सूची तयार गरी प्राथमिकताका आधारमा अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक चरणमा ठूला र प्रभावशाली भनिएका व्यक्तिहरूको सम्पत्ति, बैंकिङ कारोबार र लगानीको स्रोत परीक्षण भइरहेको छ।
अनुसन्धानको दायरामा वीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेल, महेशबहादुर सिंह, अरुण सेँढाइ, राजु अवाले, गजेन्द्र मास्के, बाबु पुन, रघु पुरी, अशोक गिरी, कविन शाक्य तथा “बाबा” भनेर चिनिने ज्ञानेन्द्र श्रेष्ठलगायत रहेको स्रोतको दाबी छ।
स्रोतका अनुसार अनुसन्धान सुरु भएको जानकारी चुहिएपछि केही व्यक्ति सम्पर्कविहीन भएका छन् भने केही निगरानीमा रहेका छन्। वीरेन्द्रलाल श्रेष्ठ भने नेपाल छाडिसकेको दाबीसमेत गरिएको छ।
क्यासिनोबाट मिटरब्याजसम्मको सञ्जाल
अनुसन्धानमा संलग्न स्रोतका अनुसार क्यासिनोमा ठूलो रकम गुमाएका व्यक्तिलाई चर्को ब्याजमा ऋण उपलब्ध गराउने, त्यसपछि ऋण तिर्न नसक्ने अवस्था सिर्जना गरी घरजग्गा कब्जा गर्ने शैलीमा वर्षौंदेखि कारोबार हुँदै आएको आशंका गरिएको छ।
कतिपय व्यक्तिले दैनिक एक लाख रुपैयाँमा एक हजार रुपैयाँसम्म ब्याज असुल्ने गरेको आरोप छ। यसरी करोडौं रुपैयाँको सम्पत्ति न्यून मूल्यमा कब्जा गरिएको भन्दै विगतमा पनि विभिन्न उजुरी दर्ता भएका थिए।
प्रहरी संरक्षणको आरोप
सम्बन्धित व्यक्तिहरूले केही प्रहरी अधिकारीको रकमसमेत मिटरब्याजमा परिचालन गर्ने र त्यसकै आडमा संरक्षण पाउँदै आएको आरोप स्रोतहरूले लगाएका छन्। उनीहरूविरुद्ध विगतमा उजुरी परे पनि प्रभावका कारण प्रभावकारी अनुसन्धान हुन नसकेको दाबी गरिएको छ।
क्यासिनो अनुगमन कमजोर भएको आरोप
यसैबीच काठमाडौंका क्यासिनोहरूमा नेपाली नागरिकको अवैध प्रवेश र त्यससँग जोडिएको मिटरब्याज कारोबारमाथि पछिल्लो समय प्रहरीको निगरानी कमजोर भएको आरोपसमेत उठेको छ।
स्रोतका अनुसार राजधानीका केही क्यासिनोमा नेपाली नागरिक निर्वाध रूपमा प्रवेश गरिरहेका छन्। त्यहीँबाट मिटरब्याजको कारोबारसमेत सञ्चालन हुने गरेको आरोप छ। विगतमा प्रहरीले नियमित छापा मार्ने गरे पनि पछिल्लो समय त्यस्तो गतिविधि देखिएको छैन।
यद्यपि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले क्यासिनोमा नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराएको सूचना प्राप्त भए तत्काल छापा मारेर कानुनी कारबाही गरिने बताएका छन्।
सम्पत्ति शुद्धीकरण मुद्दातर्फ अनुसन्धान केन्द्रित
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अहिले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति आर्जनको स्रोत, बैंकिङ कारोबार, जग्गा, सवारीसाधन तथा अन्य लगानीको विवरण संकलन गरिरहेको छ। अनुसन्धानबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भए सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी रहेको स्रोतको भनाइ छ।
यद्यपि समाचारमा उल्लेख गरिएका व्यक्तिहरूमाथि लागेको आरोप सम्बन्धित निकायबाट अन्तिम रूपमा प्रमाणित भइसकेको छैन। अनुसन्धान जारी रहेकाले कानुनी प्रक्रिया पूरा भएपछि मात्रै औपचारिक निष्कर्ष आउनेछ।

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि

2.7kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
380 Shares