सम्पत्ति शुद्धीकरण विभागको अप्रेसनः काठमाडौंका मिटरब्याजी डनहरू अनुसन्धानको घेरामा, अवैध सम्पत्तिमाथि छानबिन तीव्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकामा वर्षौंदेखि सञ्चालन हुँदै आएको मिटरब्याजको संगठित सञ्जालमाथि व्यापक अनुसन्धान थालेपछि यस धन्दाका केही प्रभावशाली व्यक्तिहरू सम्पर्कविहीन भएका छन् भने केहीमाथि निगरानी बढाइएको छ।

उच्च स्रोतका अनुसार विभागले मिटरब्याजमा सक्रिय व्यक्तिहरूको सूची तयार गरी उनीहरूको आर्थिक हैसियत, सम्पत्ति विस्तार, बैंकिङ कारोबार र लगानीका आधारमा ग्रेडिङ गर्दै कारबाही प्रक्रिया अघि बढाएको हो। प्रारम्भिक चरणमा ठूलो परिमाणमा अवैध सम्पत्ति आर्जन गरेको आशंका गरिएका व्यक्तिहरूको सम्पत्तिको स्रोत खोज्ने काम भइरहेको छ।

स्रोतका अनुसार वीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेल, महेशबहादुर सिंह, अरुण सेँढाइ, राजु अवाले, गजेन्द्र मास्के, बाबु पुन, रघु पुरी, अशोक गिरी, कविन शाक्य तथा ‘बाबा’ भनेर चिनिने ज्ञानेन्द्र श्रेष्ठलगायत व्यक्तिहरू अनुसन्धानको दायरामा छन्।

विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा नेपाल राष्ट्र बैंकसँग समन्वय गरी अनुसन्धान अघि बढाएको बताइएको छ। स्रोतका अनुसार अनुसन्धान सुरु भएको सूचना बाहिरिएपछि केही व्यक्तिले नेपाल नै छाडिसकेको आशंका गरिएको छ।

करोडबाट अर्बसम्मको सम्पत्ति

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार क्यासिनोमा हार्ने व्यक्तिलाई दैनिक अत्यधिक ब्याजदरमा रकम उपलब्ध गराउने, धितोका नाममा चेक र तमसुक लिने तथा पछि कानुनी प्रक्रिया प्रयोग गरी घरजग्गा कब्जा गर्ने शैलीबाट केही व्यक्तिले छोटो अवधिमै अर्बौं रुपैयाँ बराबरको सम्पत्ति जोडेको प्रारम्भिक निष्कर्ष छ।

पीडितहरूले दिएको विवरणअनुसार केही मिटरब्याजी समूहले सामान्य ऋणलाई अत्यधिक ब्याजका कारण अस्वाभाविक रूपमा बढाएर ऋणीको घरजग्गा कब्जा गर्ने, चेक बाउन्स मुद्दा चलाउने तथा आर्थिक र मानसिक दबाब सिर्जना गर्ने गरेको आरोप छ।

गजेन्द्र मास्केविरुद्ध थप उजुरी आउने तयारी

अनुसन्धानको दायरामा रहेका गजेन्द्र मास्केविरुद्ध पनि विभिन्न व्यापारी तथा सर्वसाधारणबाट गम्भीर आरोप सार्वजनिक भएका छन्। पीडितहरूको दाबीअनुसार उनले ऋण दिँदा अग्रिम ब्याज कटौती गर्ने, खाली चेक र तमसुक लिने तथा पछि मनोमानी रकम भरेर चेक बाउन्स मुद्दा दर्ता गर्ने गरेको आरोप छ।

कतिपय पीडितले लाखौं रुपैयाँ ऋण लिए पनि करोडौं रुपैयाँ बुझाउनुपरेको, घरजग्गा बिक्री गर्न बाध्य भएको तथा व्यवसाय नै छाड्नुपरेको गुनासो गरेका छन्। केही पीडितले चाँडै प्रहरीमा सामूहिक उजुरी दिने तयारी भइरहेको बताएका छन्।

यसअघि विभिन्न सञ्चारमाध्यममा आएका विवरणपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्बन्धित निकायले मास्केको आर्थिक कारोबारबारे समेत निगरानी बढाएको स्रोतको दाबी छ।

क्यासिनो र मिटरब्याजबीचको सम्बन्धमाथि पनि अनुसन्धान

अनुसन्धानको अर्को केन्द्र क्यासिनो कारोबार बनेको छ। स्रोतका अनुसार केही व्यक्तिले नेपाली नागरिकलाई अवैध रूपमा क्यासिनो प्रवेश गराउने, हारेपछि चर्को ब्याजमा ऋण दिने तथा त्यसबाट अवैध सम्पत्ति आर्जन गर्ने गरेको आशंकामा अनुसन्धान भइरहेको छ।

कतिपय क्यासिनोमा प्रहरी संरक्षणका कारण प्रभावकारी अनुगमन हुन नसकेको आरोपसमेत उठ्दै आएको छ। यद्यपि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपालीलाई अवैध रूपमा क्यासिनो प्रवेश गराएको प्रमाण वा सूचना प्राप्त भए तत्काल कानुनी कारबाही गरिने बताएका छन्।

कानुनले के भन्छ?

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले अत्यधिक ब्याज असुल्ने, वास्तविकभन्दा बढी रकमको लिखत तयार गर्ने, खाली चेकको दुरुपयोग गर्ने, ऋणीलाई धम्क्याउने, मानसिक वा शारीरिक यातना दिने, अनुचित तरिकाले घरजग्गा कब्जा गर्ने तथा झुट्टा कागजात तयार गरी सम्पत्ति हडप्ने कार्यलाई दण्डनीय अपराध मानेको छ।

यस्ता गतिविधिबाट आर्जन गरिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसके सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत समेत अनुसन्धान र कारबाही हुन सक्ने कानुनी व्यवस्था छ।

निष्पक्ष अनुसन्धानको अपेक्षा

मिटरब्याज पीडितहरूले यसपटक प्रभावशाली व्यक्तिमाथि पनि निष्पक्ष अनुसन्धान हुने अपेक्षा गरेका छन्। अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुग्न सके काठमाडौंमा लामो समयदेखि फैलिएको मिटरब्याजको संगठित सञ्जाल, अवैध सम्पत्ति आर्जन र त्यससँग जोडिएका सम्भावित संरक्षणकर्तामाथि समेत कानुनी कारबाहीको बाटो खुल्ने अपेक्षा गरिएको छ।

 

Facebook Comments Box
नेपालमा ‘सेल ब्रोडकास्ट’ प्रणाली लागू गर्ने तयारी, विपद्को सूचना अब मोबाइलमै साइरनसहित आउने
२ दिन अगाडि

2.7kViews 331 Shares Share on Facebook Share on Twitter काठमाडौं । सरकारले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा नागरिकलाई छिटो…

TOP
Shares