मनसुनी प्रभाव कायमै, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थान आसपासमा रहेको छ।

मनसुनी प्रणाली सक्रिय रहेकाले हाल देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने सम्भावना छ भने मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।

यस्तै आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थान, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले बागमती र गण्डकी प्रदेश तथा कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहिरो र सडक अवरोधको जोखिम रहन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box
TOP
332 Shares