

मिटरब्याजका नाइकेमाथि सरकारको एक्सन, अनुसन्धान सुरु भएपछि प्रभावशाली कारोबारी भूमिगत
काठमाडौं । वर्षौंदेखि काठमाडौं उपत्यकामा जरा गाडेर बसेको भनिएको मिटरब्याजको संगठित सञ्जालमाथि सरकारले कडा निगरानी थालेपछि यस धन्दामा संलग्न भनिएका केही प्रभावशाली व्यक्तिहरू सम्पर्कविहीन हुन थालेका छन् भने केहीमाथि निगरानी बढाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिटरब्याजमार्फत अकुत सम्पत्ति आर्जन गरेको आशंकामा विभिन्न व्यक्तिहरूको आर्थिक गतिविधि, बैंकिङ कारोबार, लगानीको स्रोत र सम्पत्ति विस्तारबारे अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ। विभागले प्रारम्भिक चरणमा मिटरब्याज कारोबारमा संलग्न व्यक्तिहरूको सूची तयार गरी जोखिमका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ।
अनुसन्धानको दायरामा वीरेन्द्रलाल श्रेष्ठ, राजन भुजेल, महेशबहादुर सिंह, अरुण सेँढाइ, राजु अवाले, गजेन्द्र मास्के, बाबु पुन, रघु पुरी, अशोक गिरी, कविन शाक्य तथा ‘बाबा’ भनेर चिनिने ज्ञानेन्द्र श्रेष्ठलगायतका नामहरू रहेको स्रोतको दाबी छ।
विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी अनुसन्धान अघि बढाएको बताइएको छ। अनुसन्धान सुरु भएको सूचना बाहिरिएपछि केही व्यक्ति नेपालबाहिर गएको आशंका गरिएको छ भने केहीले आफ्नो सम्पर्क माध्यम परिवर्तन गरेको स्रोतको भनाइ छ।
क्यासिनो, मिटरब्याज र अकुत सम्पत्तिको कनेक्सनमाथि अनुसन्धान
अनुसन्धानको मुख्य केन्द्र क्यासिनो कारोबार र मिटरब्याजबीचको सम्बन्धसमेत बनेको छ। स्रोतका अनुसार क्यासिनोमा ठूलो रकम हार्ने व्यक्तिहरूलाई तत्काल ऋण उपलब्ध गराउने, त्यसपछि अत्यधिक ब्याज असुल्ने र धितोका नाममा घरजग्गा तथा अन्य सम्पत्ति नियन्त्रणमा लिने शैलीबारे अनुसन्धान भइरहेको छ।
पीडितहरूले दिएको विवरणअनुसार केही समूहले सामान्य ऋणलाई अत्यधिक ब्याजका कारण अस्वाभाविक रूपमा बढाएर ऋणीलाई आर्थिक संकटमा पार्ने, खाली चेक तथा तमसुक प्रयोग गर्ने र कानुनी प्रक्रियाको दुरुपयोग गरी सम्पत्ति कब्जा गर्ने गरेको आरोप छ।
वीरेन्द्रलाल श्रेष्ठमाथि निगरानी, अनुसन्धानपछि सम्पर्कविहीन
मिटरब्याज कारोबारमा चर्चित नामका रूपमा लिइएका वीरेन्द्रलाल श्रेष्ठमाथि पनि अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ। क्यासिनोमा रकम हार्ने व्यक्तिलाई चर्को ब्याजमा पैसा उपलब्ध गराउने र त्यसबाट ठूलो सम्पत्ति जोडेको आरोप उनीमाथि लाग्दै आएको छ।
स्रोतका अनुसार अनुसन्धानको सूचना पाएपछि श्रेष्ठ सम्पर्कविहीन भएका छन्। उनी नेपाल बाहिर गएको हुन सक्ने आशंका समेत गरिएको छ। यद्यपि सम्बन्धित निकायले यसबारे आधिकारिक पुष्टि गरेको छैन।
यसअघि पनि श्रेष्ठमाथि मिटरब्याज कारोबार, धम्की र अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विभिन्न उजुरी परेको बताइँदै आएको थियो।
गजेन्द्र मास्केविरुद्ध थप उजुरी आउने तयारी
अनुसन्धानको दायरामा रहेका गजेन्द्र मास्केविरुद्ध पनि थप उजुरी आउने तयारी भइरहेको स्रोतले जनाएको छ।
पीडितहरूले ऋण दिँदा अग्रिम ब्याज कटौती गर्ने, खाली चेक तथा कागजात लिने र पछि ठूलो रकम देखाएर असुली गर्ने गरेको आरोप लगाएका छन्। कतिपय पीडितले सामान्य ऋण करोडौंको दायित्वमा परिणत भएको र घरजग्गासमेत गुमाउनुपरेको गुनासो गरेका छन्।
कविन शाक्यमाथि पनि अनुसन्धानको घेरा
मिटरब्याज कारोबारमा संलग्न भनिएका कविन शाक्यमाथि पनि निगरानी बढाइएको स्रोतको दाबी छ। क्यासिनोमा रकम हार्ने व्यक्तिहरूलाई ऋण उपलब्ध गराउने र चर्को ब्याज असुल्ने गतिविधिमा उनको नाम जोडिँदै आएको छ।
यसअघि पनि क्यासिनोसम्बन्धी विवादमा उनको नाम सार्वजनिक भएको थियो। प्रहरी अनुसन्धानका क्रममा क्यासिनोमा छलकपटपूर्ण गतिविधि गरेको आरोपमा उनी पक्राउ परेको विवरणसमेत सार्वजनिक भएको थियो।
अबैध सम्पत्तिको स्रोत खोजिँदै
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार मिटरब्याजमार्फत आर्जन गरिएको भनिएको सम्पत्तिको स्रोत खोजी भइरहेको छ। वास्तविक आम्दानीभन्दा अस्वाभाविक रूपमा बढेको सम्पत्ति, बैंकिङ कारोबार, जग्गा खरिद–बिक्री र लगानीको विवरण विश्लेषण भइरहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअनुसार गैरकानुनी माध्यमबाट आर्जन गरिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसके त्यस्तो सम्पत्तिमाथि अनुसन्धान र जफतको प्रक्रिया अघि बढ्न सक्छ।
सरकारको सन्देश : मिटरब्याजविरुद्ध कठोर कदम
मिटरब्याजबाट सर्वसाधारण ठगीमा परेको गुनासो बढेपछि सरकारले यसविरुद्ध कठोर कदम चाल्ने संकेत दिएको छ। लामो समयदेखि प्रभावशाली समूहको संरक्षणमा चल्दै आएको भनिएको यो सञ्जालमाथि निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पीडितहरूले गर्दै आएका छन्।
अबको अनुसन्धानले मिटरब्याजको नाममा भएको भनिएको आर्थिक शोषण, अवैध सम्पत्ति आर्जन र संरक्षणको जालो कति गहिरो छ भन्ने तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
टोखा रोड ग्रिनल्याडको ‘मिठाे झोल मःम’को गम्भीर लापरबाही- मःममा कपाल भेटियो,कारबाही होला त ?
-
मृदुला सरिया नर्भिक अस्पतालमा भर्ना, सीआईबीको अनुसन्धानमाथि प्रश्न उठ्यो
-
प्रहरी श्रीमती संघद्वारा दृष्टि फाउन्डेसनमा खाद्यान्न तथा लत्ताकपडा वितरण
-
साउदी अरबमा सम्बन्ध विच्छेदको दर बढ्दो, सन् २०२५ मा करिब ५८ हजार तलाक दर्ता
-
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक,महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
१ दिन अगाडि
1.8kViews 347 Shares Share on Facebook Share on Twitter कास्की – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण…





