

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनतर्फ, नेपालकै पहिलो आधुनिक यातायात सुरुङमार्गको उद्घाटन

काठमाडौं । नेपालको पूर्वाधार विकासको इतिहासमा नयाँ अध्याय थप्दै नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको यो आयोजना सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश र बाहिरिने यात्रामा सहजता आउने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षलगायत उच्च अधिकारीहरूको उपस्थितिमा बिहान १०ः२५ बजे सुरुङमार्ग उद्घाटन गरिने कार्यक्रम छ।
उद्घाटनपछि निर्माण पक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। उद्घाटन समारोहमा मन्त्री लम्साल, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा सञ्चालनको सुरुवात गर्ने कार्यक्रम रहेको छ।
पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीलाई प्राथमिकता दिइनेछ। केही दिन सुरुङमार्गको सुरक्षा, ट्राफिक व्यवस्थापन तथा प्राविधिक पक्षको परीक्षण गरेपछि सबै वर्गका सवारीसाधनलाई सञ्चालन अनुमति दिइने बताइएको छ।
परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने सडक विभागले जनाएको छ।
२ हजार ६८८ मिटर लामो सुरुङ, प्रवेश शुल्क तोकियो
कुल २ हजार ६८८ मिटर लामो नागढुंगा–सिस्ने खोला सुरुङमार्ग प्रयोग गरेबापत भने निश्चित शुल्क तिर्नुपर्नेछ।
सडक विभागका अनुसार:
- कार तथा भ्यान: काठमाडौं प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६०
- मिनीबस, ट्रक तथा टिपर: काठमाडौं प्रवेश गर्दा रु ११५ र बाहिरिँदा रु ८०
- बस तथा ठूला ट्रक: काठमाडौं प्रवेश गर्दा रु २६० र बाहिरिँदा रु २००
निर्धारित शुल्क लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीले तोकिएको दरअनुसार भुक्तानी गर्नुपर्नेछ।
दुईपांग्रे र पैदलयात्रीलाई प्रवेश निषेध
सुरुङमार्गको सुरक्षा मापदण्डअनुसार पैदलयात्री, दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनलाई भने प्रवेश अनुमति दिइने छैन।
वर्षौंदेखि नागढुंगा सडकखण्डमा हुने जाम, पहिरो र यातायात अवरोधको समस्या समाधानमा यो सुरुङमार्ग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। जापान सरकारको सहयोगमा निर्माण भएको यो आयोजना नेपालको आधुनिक यातायात पूर्वाधारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





