अमेरिका–इरान युद्ध: अमेरिकी सैनिकको वास्तविक हताहत संख्या लुकाइएको आरोप, पेन्टागन विवादमा

काठमाडौं । अमेरिका–इरानबीच पुनः चर्किएको सैन्य द्वन्द्वका क्रममा मारिएका अमेरिकी सैनिकहरूको वास्तविक संख्या लुकाइएको हुन सक्ने आरोपपछि अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) विवादमा परेको छ। आधिकारिक हताहत विवरणमा गरिएको परिवर्तन सार्वजनिक भएपछि ट्रम्प प्रशासनमाथि युद्धको वास्तविक मानवीय क्षति लुकाउन खोजिएको आरोप लागेको हो।

अमेरिकी समाचार संस्था एपी (Associated Press) का अनुसार हालैका हप्ताहरूमा इरानसँगको द्वन्द्वमा मारिएका चार अमेरिकी सैनिकको विवरण पेन्टागनको आधिकारिक हताहत सूचीबाट हटाइएको थियो। पछि ती विवरण “Overseas Operations” नामक छुट्टै श्रेणीमा सारिएको जनाइएको छ।

यस घटनाले युद्धमा ज्यान गुमाउने र घाइते हुने सैनिकहरूको वास्तविक तथ्यांक सार्वजनिक गर्न पेन्टागनले पर्याप्त पारदर्शिता अपनाएको छ वा छैन भन्ने विषयमा प्रश्न उठेको छ।

एपीका अनुसार Defence Casualty Analysis System (DCAS) वेबसाइटबाट चार सैनिकको मृत्यु र दर्जनौँ घाइतेको विवरण हटाइएको थियो। त्यसपछि प्रणालीमा नयाँ श्रेणी थप गर्दै चार जनाको मृत्यु र २०७ जना घाइते रहेको उल्लेख गरिएको छ। तर ती सबै घाइते इरानसँगको द्वन्द्वसँग सम्बन्धित हुन् वा होइनन् भन्ने स्पष्ट पारिएको छैन।

यस विषयमा अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) ले प्रतिक्रिया दिन अस्वीकार गर्दै प्रश्नहरू पेन्टागनतर्फ पठाएको छ। ह्वाइट हाउसले पनि तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

पेन्टागनका प्रेस सचिव जोएल भाल्डेजले तथ्यांकमा देखिएको परिवर्तनलाई ‘अस्थायी डेटा अवरोध’ र ‘प्राविधिक विसंगति’ को परिणाम भएको दाबी गरेका छन्। उनका अनुसार युद्धको मानवीय क्षति लुकाउने कुनै उद्देश्य नरहेको र समस्या समाधानको प्रक्रिया जारी छ।

यसअघि सार्वजनिक विवरणमा युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु र ४८२ जना घाइते भएको उल्लेख गरिएको थियो। तर त्यसको भोलिपल्ट आधिकारिक प्रणालीमा मृत्यु संख्या १४ मा झरेको र घाइतेको संख्या पनि घटाइएको देखिएको छ।

एपीले उद्धृत गरेको एक अमेरिकी अधिकारीका अनुसार इरानसँगको पछिल्लो द्वन्द्वमा ५०० भन्दा बढी अमेरिकी सैनिक घाइते भइसकेका छन्।

प्रतिवेदनअनुसार जुलाई १७ मा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको इरानी ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमणमा तीन सैनिक मारिएका थिए भने त्यसको भोलिपल्ट इराकमा भएको अर्को ड्रोन आक्रमणमा थप एक सैनिकको मृत्यु भएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गरेका थिए। तर त्यसपछि पेन्टागनको आधिकारिक तथ्यांकमा आएको परिवर्तनले थप विवाद निम्त्याएको छ।

यसैबीच, मे महिनायता पेन्टागनले इरानसँगको युद्धबारे कुनै विस्तृत पत्रकार सम्मेलन नगरेको र अमेरिकी केन्द्रीय कमान्डले पनि नियमित हताहत विवरण सार्वजनिक नगरेको उल्लेख गरिएको छ। यद्यपि, पेन्टागनले आफू पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गर्दै आएको छ।

Facebook Comments Box
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
१ दिन अगाडि

1.9kViews 347 Shares Share on Facebook Share on Twitter कास्की – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण…

TOP
405 Shares