जागिर पनि, विश्वविद्यालयको डिग्री पनि : कामकाजी डिप्लोमा इन्जिनियरहरूको पहिलो रोजाइ बन्दै ‘नेक–बीडीएच’

काठमाडौं । कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय अध्ययन गरेका तथा सिटिइभिटी अन्तर्गत सिभिल इन्जिनियरिङ (३ वर्षे डिप्लोमा/सव–इन्जिनियरिङ) पूरा गरी रोजगारीमा प्रवेश गरेका प्राविधिक जनशक्तिका लागि विश्वविद्यालयको स्नातक तहको डिग्री हासिल गर्ने उत्कृष्ट अवसरका रूपमा नेपाल इन्जिनियरिङ कलेजले सञ्चालन गर्दै आएको ब्याचलर फर डिप्लोमा होल्डर्स कार्यक्रम स्थापित भएको छ ।

पाँच वर्षे (९ सेमेस्टर) यस कार्यक्रमले सयौं कामकाजी युवालाई जागिर नछोडी उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ । विश्वविद्यालयको डिग्री प्राप्त गरेसँगै सरकारी सेवामा समयअनुसार पदोन्नति हुँदै उच्च तहमा पुग्ने बाटो खुल्ने भएकाले यो कार्यक्रम विशेषगरी सरकारी सव–इन्जिनियरहरू माझ निक्कै लोकप्रिय बन्दै गएको छ ।

यो कार्यक्रम विशेष रूपमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा अध्ययन गरेका तथा सिभिल इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा पूरा गरेका प्राविधिकहरूलाई लक्षित गरेर तयार गरिएको हो । नियमित कार्यालय समयपछि साँझ सञ्चालन हुने कक्षाका कारण काम र अध्ययनलाई एकैसाथ अघि बढाउन सहज हुने व्यवस्था गरिएको छ ।

यस कार्यक्रमबाट लाभान्वित हुनेमध्ये एक हुन् प्युठानको स्वर्गद्वारी नगरपालिकाका युवराज कोइराला । लोक सेवा आयोगमार्फत सव–इन्जिनियरका रूपमा सरकारी सेवामा प्रवेश गरेका उनी सहायक स्तरको पाँचौं तहमा सीमित नभई उच्च तहमा पुग्ने लक्ष्यसहित विश्वविद्यालयको डिग्री हासिल गर्ने विकल्प खोजिरहेका थिए ।

हाल ललितपुर महानगरपालिकामा सव–इन्जिनियरका रूपमा कार्यरत कोइरालाले आफ्नै सहकर्मीबाट नेपाल इन्जिनियरिङ कलेजको बीडीएच कार्यक्रमबारे जानकारी पाए । जागिरलाई निरन्तरता दिँदै अध्ययन गर्न सकिने सुविधा थाहा पाएपछि उनले ढिला नगरी कार्यक्रममा भर्ना भए ।

उनी अहिले आफूले सही समयमा सही निर्णय गरेको अनुभव सुनाउँछन् । “दिनभरि कार्यालयको काम गरेर साँझ अध्ययन गर्न पाउनु नै यो कार्यक्रमको विशेषता हो । कामसँगै पढाइलाई निरन्तरता दिन सकिने भएकाले सरकारी सेवामा रहेका प्राविधिक कर्मचारीका लागि यो अत्यन्त उपयोगी कार्यक्रम हो ।” काेइराला भन्छन् ।

उनका अनुसार अहिले उनलाई कार्यालयमा काम गर्ने क्रममा आउने व्यवहारिक समस्या कक्षाकोठामा शिक्षक र सहपाठीसँग छलफल गरेर समाधान खोज्ने अवसर मिलेको छ । साथै कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई भोलिपल्टै कार्यस्थलमा प्रयोग गर्न पाउँदा उनकाे सिकाइ अझ प्रभावकारी बनेको छ । “व्यवहारिक अनुभव र कक्षाकोठाको ज्ञानलाई एकसाथ जोड्न सकिने भएकाले यो कार्यक्रमले मेरो पेशागत दक्षता पनि बढाएको छ ।” उनी भन्छन् ।

कोइराला जस्तै डिप्लोमा पढेर सरकारी सेवामा प्रवेश गरेका उमेश थापा पनि काम गर्दै उच्च शिक्षा हासिल गर्ने अवसर भएकाले बीडीएच अध्ययन गरिरहेका छन् । कतिपय अवस्थामा काम गर्दा अनुभव र पढाइ दुवैको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ छ ।हाल दक्षिणकाली नगरपालिकाको पूर्वाधार विकास शाखामा सव–इन्जिनियरका रूपमा कार्यरत उमेश थापा भन्छन्,“काम गर्दा अनुभव मात्र पर्याप्त हुँदैन, शैक्षिक योग्यता पनि उत्तिकै आवश्यक रहेछ । त्यसैले मैले बीडीएच ज्वाइन गरे ।”

बीडीएच आठौं सेमेस्टरमा अध्ययनरत थापाका अनुसार विश्वविद्यालयको डिग्रीले पेशागत विकाससँगै भविष्यका अवसरहरू पनि विस्तार गर्ने विश्वास छ ।

त्यस्तै, बीडीएच छैटौं सेमेस्टरमा अध्ययनरत हिमानी गौतम दैनिक करिब तीन घण्टा अध्ययन गरेर पनि विश्वविद्यालयको स्नातक तह पूरा गर्न सकिने भएकाले आफूले यो कार्यक्रम रोजेको बताउँछिन् । आर्थिक अवस्था कमजोर भएकाले जागिर छोडेर नियमित अध्ययन गर्न आफुमा सम्भव नभएको उनकाे भनाइ छ । “काम नगरी पढ्ने मेरो आर्थिक अवस्था थिएन । बीडीएचको बारेमा थाहा पाएपछि दायाँ–बायाँ केही नसोची भर्ना भएँ । बीडीएच ज्वाइन गरेपछि मलाई फ्रिडम र फाइनान्सियल इन्डिपेन्डेन्स फिल भएको छ ।” हिमानी भन्छिन् ।

डिप्लोमा होल्डर्सहरूका लागि नेकको बीडीएच कार्यक्रम विश्वविद्यालयको डिग्री हासिल गर्ने प्रभावकारी माध्यम बनेको उनको अनुभव छ ।

नेपाल इन्जिनियरिङ कलेजका अनुसार बीडीएच कार्यक्रमले उच्च शिक्षा हासिल गर्न चाहने कामकाजी प्राविधिकका लागि लचिलो, व्यवहारिक र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्दै आएको छ । यही कारणले सरकारी तथा निजी क्षेत्रमा कार्यरत सव–इन्जिनियरहरूका लागि यो कार्यक्रम विश्वविद्यालयको डिग्री हासिल गर्ने भरपर्दो माध्यमका रूपमा स्थापित हुँदै गएको कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी बताउनुहुन्छ ।

“बीडीएच कार्यक्रम खासगरी डिप्लोमा होल्डर्स तथा कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीहरूका लागि विश्वविद्यालयको अध्ययन गर्ने माध्यमका रूपमा तयार पारिएको हो । प्रायः डिप्लोमा होल्डर्सहरू कतै न कतै इङ्गेज्ड भएको अवस्थालाई मध्यनजर गरेर हामीले कार्यालय समयपछि बेलुकी कक्षा सञ्चालन गरिरहेका छौं । नेकको बीडीएच अध्ययन गरेर धेरै विद्यार्थीहरू नेपाल सरकारका महत्वपूर्ण पदहरूमा मात्र पुगेका छैनन्, कतिपय विद्यार्थीहरू विश्व बजारमा पनि स्थापित भएका उदाहरणहरू हामीसँग छ ।”  प्राचार्य दुर्गा प्रसाद भण्डारी भन्छन् ।

सन् २००० देखि सञ्चालनमा रहेको यो ९ सेमेस्टरको कार्यक्रम विशेष रूपमा कामकाजी प्राविधिकहरूको आवश्यकता र समय व्यवस्थापनलाई ध्यानमा राखेर सञ्चालन हुँदै आएको छ । नियमित कक्षासँगै फिल्डवर्क तथा प्रयोगात्मक शिक्षणका लागि शनिबार तथा सार्वजनिक बिदाका दिन कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरूलाई जागिर र अध्ययनबीच प्रभावकारी सन्तुलन कायम गर्न सहज हुने कलेजले जनाएको छ ।

कामसँगै उच्च शिक्षा हासिल गर्ने चाहना भएका डिप्लोमा इन्जिनियरहरूका लागि नेपाल इन्जिनियरिङ कलेजको बीडीएच कार्यक्रम आज विश्वविद्यालयको डिग्री मात्र नभई पेशागत उन्नति, पदोन्नति र भविष्यका अवसरहरूको भरपर्दो आधारका रूपमा स्थापित हुँदै गएको छ ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
183 Shares