५९ वर्षका ‘किंग काजु’को अर्को इतिहास, चार वर्षपछि फेरि प्रतिस्पर्धात्मक फुटबलमा गोल

जापान । विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर काजुयोशी मिउरा (किंग काजु) ले ५९ वर्षको उमेरमा फेरि इतिहास रचेका छन्। जापानी तेस्रो डिभिजन क्लब फुकुसिमा युनाइटेडबाट खेल्दै उनले करिब चार वर्षपछि प्रतिस्पर्धात्मक फुटबलमा गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।

शनिबार सम्पन्न एम्परेर्स कप अन्तर्गत इवाकी फुरुकावाविरुद्धको खेलमा मिउराले खेलको ५२औँ मिनेटमा गोल गर्दै टोलीलाई ५–० को अग्रता दिलाएका थिए। उक्त खेलमा फुकुसिमा युनाइटेडले ७–० को शानदार जित हात पारेको थियो।

प्रतिस्पर्धात्मक फुटबलमा मिउराको यो गोल नोभेम्बर २०२२ यताकै पहिलो हो। त्यसबेला उनले तत्कालीन सुजुका पीजी (हालको एत्लेटिको सुजुका)बाट एफसी ओसाकाविरुद्ध गोल गरेका थिए।

जापानमा ‘किंग काजु’ उपनामले परिचित मिउरा सन् १९९३ मा जे लिग सुरु हुँदा देशका प्रमुख फुटबल स्टारका रूपमा स्थापित भएका थिए। उनले आफ्नो व्यावसायिक करिअर सन् १९८६ मा ब्राजिलको सान्तोस क्लबबाट सुरु गरेका थिए भने इटाली, क्रोएसिया र अस्ट्रेलियाका विभिन्न क्लबबाट पनि खेलिसकेका छन्।

हाल जे२ लिग क्लब योकोहामा एफसीबाट लोनमा फुकुसिमा युनाइटेडमा रहेका मिउराको सम्झौता जुन २०२७ सम्मका लागि थपिएको छ। यससँगै उनको व्यावसायिक फुटबल करिअर ४२औँ सिजनमा प्रवेश गर्ने भएको छ।

जापानका लागि ८९ अन्तर्राष्ट्रिय खेलमा ५५ गोल गरेका किंग काजुले ६० वर्षको उमेरसम्म व्यावसायिक फुटबल खेल्ने लक्ष्य सार्वजनिक रूपमा व्यक्त गरिसकेका छन्। ५९ वर्षको उमेरमा गरेको पछिल्लो गोलले उनी अझै पनि आफ्नो लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको देखाएको छ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
402 Shares