लिपुलेकसहित तीन हिमाली नाकाबाट चीनसँग सीमा व्यापार पुनः सञ्चालन गर्ने भारतको तयारी

काठमाडौं । भारतले नेपाली दाबी रहेको लिपुलेकसहित चीनसँग जोडिएका तीनवटा हिमाली नाकाबाट सीमा व्यापार पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारत–चीनबीच भएको पूर्वसहमति अनुसार लिपुलेक, सिपकी ला र नाथु ला नाकाबाट व्यापारिक गतिविधि पुनः सुरु गरिने जानकारी दिएका हुन्।

चीनसँगको सीमा व्यापारबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै जैसवालले सन् २०२५ अगस्ट १९ मा जारी भारत–चीन संयुक्त विज्ञप्तिको स्मरण गराउँदै दुवै देश ती तीनवटै नाकाबाट व्यापार सञ्चालन गर्न सहमत भएको बताए।

“सन् २०२५ अगस्ट १९ को संयुक्त विज्ञप्तिअनुसार दुवै पक्ष लिपुलेक, सिपकी ला र नाथु ला पासबाट व्यापार सञ्चालन गर्न सहमत भएका थिए। अब त्यही सहमतिअनुसार प्रक्रिया अघि बढिरहेको छ,” जैसवालले भने।

भारतले चीनसँगको व्यापारिक मार्गका रूपमा प्रयोग गर्दै आएको लिपुलेक क्षेत्र नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको भूभाग हो। उक्त क्षेत्रलाई भारत–चीन व्यापार सहकार्यमा समावेश गरिएको विषयमा भने भारतीय पक्षले पछिल्लो वक्तव्यमा कुनै नयाँ धारणा सार्वजनिक गरेको छैन।

लिपुलेक लगायतका सीमासम्बन्धी विषयमा नेपालले विगतदेखि नै आफ्नो स्पष्ट अडान राख्दै आएको छ। भारत र चीनबीच हुने कुनै पनि सहमति वा गतिविधिले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका विषयलाई ध्यान दिनुपर्ने नेपालको धारणा रहँदै आएको छ।

Facebook Comments Box
TOP
246 Shares