टोखाको मिठो झोल म.म.मा कपाल भेटिँदा २० हजार जरिवाना,पुनः गल्ती गरे कडा कारबाही गर्ने चेतावनी

काठमाडौं। टोखा रोड ग्रिनल्याडमा सञ्चालित (मिठो झोल) म.म. मा कपाल भेटिएपछि कारबाहीमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले म.म.मा कपाल भेटिएको समाचार र भिडियो तथ्यसहित सार्वजनिक भएपछि अनुगमन गरेर कारबाही गरेको हो। उक्त पसललाइ २० हजार जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) इश्वरराज पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार पसलले यस प्रकारको त्रुटि पहिलोपटक गरेको हुँदा हाललाई जरिवानासहित सचेत गराई चेतावनी दिइएको जनाउनुभयो। अनुगमन टोलीले पसल सञ्चालकलाई खाना तयार गर्दा अपनाउनुपर्ने स्वच्छता मापदण्ड तथा खाद्य वस्तु ढाकछोप गर्नेलगायतका विषयमा कडा निर्देशन दिएको छ।

सीडीओ पौडेलले भन्नुभयो,उपभोक्ताको स्वास्थ्यसँग सिधा सरोकार राख्ने यस्ता विषयमा कुनै पनि व्यवसायीले लापरबाही गर्न मिल्दैन। यसपटक सो म.म. पसलको त्रुटि पहिलो पटक भएकाले चेतावनीसहित जरिवाना गरिएको हो, तर आगामी दिनमा यस्तै त्रुटि दोहोरिएमा थप कडा कारबाही गरिने बताउनुभयाे।

पछिल्लो समय काठमाडौं उपत्यकामा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गुनासो बढ्दै गएपछि सम्बन्धित निकायले बजार अनुगमनलाई तीव्र बनाएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि होटल, रेष्टुरेन्ट, फास्टफुड तथा खाद्य सामग्री बिक्री गर्ने विभिन्न व्यवसायमा नियमित अनुगमन गरिँदै आएको जनाइएको छ।

प्रशासनले उपभोक्तालाई पनि खाद्य सामग्रीमा कुनै किसिमको समस्या वा अनियमितता देखिए तत्काल सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने लापरबाही नियन्त्रण गर्न सरकारी निकायले आगामी दिनमा पनि बजार अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ।

उपत्यकाभित्र यसअघि पनि विभिन्न खाद्य पसल र रेस्टुरेन्टहरूमा यस्तै प्रकृतिका अनुगमन तथा कारबाही भइरहेका छन्,जसको उद्देश्य उपभोक्ताको स्वास्थ्य सुरक्षा र गुणस्तरीय खाद्य सेवा सुनिश्चित गर्नु रहेको सम्बन्धित निकायहरूले जनाएका छन्।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
490 Shares