निर्वासनमा रहेकी शेख हसिनाको घोषणा– ‘जोखिम भए पनि डिसेम्बरभित्र बङ्गलादेश फर्किन्छु’

ललितपुर । भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्नुपर्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आए पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गर्नुभएको छ।

एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफूलाई बङ्गलादेश फर्किन जनताबाट निरन्तर आग्रह आइरहेको बताउँदै सम्भावित जोखिमबारे पूर्ण रूपमा जानकार रहे पनि आफ्नो निर्णयबाट पछि नहट्ने स्पष्ट गर्नुभएको छ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि उहाँको १५ वर्ष लामो शासन अन्त्य भएको थियो। त्यसपछि आन्दोलनकारीले प्रधानमन्त्री निवास घेरेपछि उहाँ हेलिकोप्टरमार्फत भारत जानुभएको थियो। संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दबाउने क्रममा भएको सरकारी कारबाहीमा करिब १,४०० जनाको मृत्यु भएको थियो।

गत नोभेम्बरमा ढाकास्थित अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। तर हसिनाले उक्त फैसला राजनीतिक प्रतिशोध भएको दाबी गर्दै सबै आरोप अस्वीकार गर्नुभएको छ।

भारतमा गोप्य स्थानमा बस्दै आउनुभएकी हसिनाले आफ्नो स्वदेश फर्कने निर्णयमा कुनै बाह्य दबाब नरहेको बताउँदै भारतीय अधिकारीहरूले प्रत्यर्पणबारे आफूसँग कुनै छलफल नगरेको उल्लेख गर्नुभएको छ।

मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या र विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन्। तर उहाँले ती आरोपलाई राजनीतिक उद्देश्यले फैलाइएको अभियानको संज्ञा दिँदै प्रत्येक घटनामा अनुसन्धान र कानुनी कारबाही भएको दाबी गर्नुभएको छ।

विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोपसमेत उहाँले अस्वीकार गर्दै आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन नभई योजनाबद्ध राजनीतिक अभियान भएको दाबी गर्नुभएको छ। साथै, स्वदेश फर्किएपछि सक्रिय राजनीतिमा पुनः फर्किने विषयमा भने उहाँले स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छैन।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
269 Shares