पाकिस्तानमा प्रहरी चौकीमाथि भीषण आक्रमण, ९ प्रहरी र १५ आक्रमणकारीको मृत्यु

इस्लामाबाद । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा ९ जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाफी कारबाहीमा १५ जना आक्रमणकारी मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार हङ्गु जिल्लास्थित प्रहरी चौकीलाई लक्षित गरी ठूलो सङ्ख्यामा सशस्त्र व्यक्तिले आक्रमण गरेका थिए। झडपका क्रममा ९ प्रहरीको ज्यान गएको तथा २६ जना प्रहरी घाइते भएको जनाइएको छ। सुरक्षा कारबाहीका क्रममा १५ आक्रमणकारी मारिनुका साथै अन्य धेरै घाइते भएका छन्।

खैबर पख्तुनख्वा प्रहरीले झडपका क्रममा एउटा बख्तरबन्द सवारीसाधनसहित प्रहरीका अन्य सवारीमा पनि गम्भीर क्षति पुगेको जनाएको छ।

यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशबाट लिएको छ। पछिल्ला महिनादेखि उक्त समूहले खैबर पख्तुनख्वाका विभिन्न क्षेत्रमा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ।

यसअघि गत शुक्रबार ट्याङ्क जिल्लास्थित अर्को सुरक्षा चौकीमा भएको आत्मघाती आक्रमणमा सैनिक, प्रहरी र सरकारी कर्मचारीसहित १५ जनाको मृत्यु भएको थियो। त्यस घटनापछि सुरक्षा बलको कारबाहीमा १२ जना आक्रमणकारी मारिएको पाकिस्तानी सेनाले जनाएको थियो।

पाकिस्तान सरकारले खैबर पख्तुनख्वा र बलुचिस्तानमा बढ्दो हिंसात्मक गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित आतङ्कवादी समूह जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ। तर अफगानिस्तानको तालिबान सरकारले ती आरोप अस्वीकार गर्दै आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने जनाएको छ।

यस विषयलाई लिएर दुवै देशबीच पछिल्ला महिनामा तनाव बढ्दै गएको छ। पाकिस्तानले अफगान भूमिमा लुकेका आतङ्ककारीलाई लक्षित गरी हवाई आक्रमणसमेत गर्दै आएको दाबी गरेको छ भने तालिबान प्रशासन र संयुक्त राष्ट्रसङ्घका अनुसार त्यस्ता आक्रमणमा सर्वसाधारणसमेत मारिने गरेका छन्।

Facebook Comments Box
TOP
Shares