सुनसरी देवानगञ्ज घटनापछि सप्तरीमा तनाव, राजविराजमा अनिश्चितकालीन कर्फ्यु जारी

राजविराज । सुनसरीको देवानगञ्जमा भएको घटनापछि फैलिएको तनाव सप्तरीसम्म आइपुगेको छ। सम्भावित अप्रिय घटना रोक्न जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको आदेशअनुसार आज बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु लागू गरिएको क्षेत्रको सीमाना पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडस्थित बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसअघि सप्तरीकै बोदेबरसाईन नगरपालिकामा समेत तनाव बढेपछि हिजो राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो। शान्ति सुरक्षा कायम गर्न त्यहाँ नेपाली सेनासमेत परिचालन गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन, अफवाहमा नलाग्न र शान्ति सुरक्षाका लागि जारी गरिएका आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुरक्षा निकायले संवेदनशील क्षेत्रहरूमा निगरानी बढाएको जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares