गण्डकी प्रदेशसभाबाट गाँजा खेतीसम्बन्धी विधेयक पुनः सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक आज पुनः सर्वसम्मत रूपमा पारित गरेको छ।

यसअघि गत असार २५ गते प्रदेशसभाबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी सन्देशसहित पुनर्विचारका लागि प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो।

आजको बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि प्रदेशसभा सदस्य प्रकाश बराल, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारी र फणिन्द्र देवकोटालगायतले छलफलमा भाग लिँदै प्रदेशसभाले आफ्नो स्वतन्त्र विधायिकी अधिकार प्रयोग गरी विधेयक निर्माण गरेको धारणा राख्नुभएको थियो।

उहाँहरूले पुरानो सङ्घीय कानुनको व्यवस्था देखाएर संविधान २०७२ अनुसार गठित प्रदेश सरकारले बनाएका कानुन रोक्न नहुनेमा जोड दिनुभएको थियो।

छलफलपछि मन्त्री रिमालले विधेयकलाई यथावत् पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत उक्त प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभयो।

प्रदेशसभा सचिवालयका अनुसार विधेयक प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुखको कार्यालयमा पठाइनेछ।

Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
Shares