हेटौँडामा डेरामै अचेत अवस्थामा भेटिएकी युवतीको मृत्यु, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० टिसिएन रोडस्थित एक डेरा कोठामा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल हेटौँडा–१० टिसिएन रोडमा बस्दै आएकी अन्दाजी १७–१८ वर्षीया अनिशा बिक बुधबार बिहान आफ्नै डेरामा अचेत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार उनी हेटौँडास्थित आरआरएस थकाली रोधीघरमा वेटरका रूपमा काम गर्दै आएकी थिइन्। डेरामा सँगै बस्ने साथीहरूले बिहान करिब ६ बजे उनलाई अचेत अवस्थामा भेटेपछि तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा चिकित्सकले इसिजी परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्नुका साथै प्रमाण संकलन र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीले युवतीको मृत्युको वास्तविक कारण भने खुल्न बाँकी रहेको जनाएको छ। घटनाको प्रकृति र कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares