अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, बिपी राजमार्ग र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा लगातारको वर्षापछि सडक हिलाम्मे बनेकाले सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात सेवा ठप्प भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु राजमार्गमा त्रिशूली नदीले सडक कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडकखण्डमा समेत सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ।

Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
15 Shares