डिप्लोमा इन्जिनियरहरूको रोजाइमा नेपाल इन्जिनियरिङ कलेजको विडिएच, ४८ सिटका लागि एक सय बढीको प्रतिस्पर्धा

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको ‘ब्याचलर अफ इन्जिनियरिङ (सिभिल) फर डिप्लोमा होल्डर्स (विडिएच)’ कार्यक्रममा यस वर्ष उल्लेखनीय आकर्षण देखिएको छ । ४८ सिटका लागि लिइएको प्रवेश परीक्षामा एक सय जना बढी विद्यार्थी सहभागी भएका छन् ।

शनिबार ललितपुरको प्रयागपोखरीस्थित नेक–सिपिएस परिसरमा भएको प्रवेश परीक्षामा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थी सहभागी भएका थिए । कक्षा ९ देखि १२ सम्म प्राविधिक विषय अध्ययन गरेका तथा सिटिइभिटीअन्तर्गत सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गरेका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रममा विगतका वर्षको तुलनामा बढी आवेदन परेको कलेजले जनाएको छ ।

विडिएच कार्यक्रम संयोजक रमेश ज्ञवालीका अनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कार्यक्रममा छात्रवृत्तिसहित ४८ सिटका लागि एक सय बढी विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका हुन् । ‘विगतका वर्षमा मुख्यतः डिप्लोमा गरेर सरकारी सेवामा कार्यरत प्राविधिकहरूको सहभागिता बढी हुन्थ्यो,’ उनले भने, ‘यस वर्ष भने कक्षा १२ सम्म विज्ञान विषय अध्ययन गरेका विद्यार्थीहरूको पनि उल्लेखनीय आकर्षण देखिएको छ । यसले कार्यक्रमप्रतिको विश्वास बढ्दै गएको संकेत गर्छ ।’

कलेजका कार्यवाहक प्राचार्य मोहनध्वज केसीले डिप्लोमा पश्चात् उच्च शिक्षा हासिल गर्न चाहने प्राविधिक जनशक्तिको संख्या बढ्दै गएकाले कार्यक्रमप्रतिको आकर्षण पनि बढेको बताए । ‘यो कार्यक्रम सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीलाई विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हो, यसले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै व्यवसायिक दक्षता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ ।’ उनले भने ।

नेपाल इन्जिनियरिङ कलेजले वि.सं. २०५७ सालदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा डिप्लोमा होल्डर्सका लागि विडिएच कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजका अनुसार यस अवधिमा सयौं विद्यार्थीले स्नातक उपाधि हासिल गरी नेपाल सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रमा जिम्मेवार प्राविधिक पदमा कार्यरत छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत प्राविधिकलाई लक्षित गर्दै कलेजले साँझको समयमा नियमित कक्षा तथा शनिबार र सार्वजनिक बिदाका दिन प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको छ । यस व्यवस्थाले रोजगारी नछोडी उच्च शिक्षा हासिल गर्न सहज भएको कलेजको दाबी छ ।

कार्यक्रममा सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक सीप विकासमा जोड दिइने भएकाले पूर्वाधार विकास, निर्माण व्यवस्थापन तथा इन्जिनियरिङ क्षेत्रका व्यावसायिक चुनौती सामना गर्न सक्षम जनशक्ति उत्पादनमा योगदान पुग्दै आएको कलेजले जनाएको छ । अनुभवी प्राध्यापक, व्यावहारिक शिक्षण पद्धति र लचिलो अध्ययन प्रणालीका कारण विडिएच कार्यक्रम डिप्लोमा इन्जिनियरहरूका लागि लोकप्रिय विकल्प बन्दै गएको कलेजको भनाइ छ ।
Facebook Comments Box
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
२ दिन अगाडि

1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकायालाई…

TOP
15 Shares