नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह: ‘स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, स्वास्थ्य र आत्मविश्वास बढाउँछ’

काठमाडौं । अत्तरखेल–जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा सप्ताहव्यापी सचेतना कार्यक्रम सुरु भएको छ । ‘जीवनको दिगो सुरुआतका लागि स्तनपान: प्रभावकारी अभ्यासलाई अझ सुदृढ बनाऔँ’ भन्ने सन्देशसहित सुरु गरिएको कार्यक्रममा चिकित्सकहरूले स्तनपानसम्बन्धी विभिन्न भ्रम चिर्दै यसको स्वास्थ्यगत महत्वबारे जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्त्री तथा प्रसूति रोग विभागकी विभागीय प्रमुख तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा. डा. रिता मरहठ्ठाले स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताइन् । नियमित स्तनपान गराउने महिलामा स्तन तथा पाठेघरसम्बन्धी क्यान्सरको जोखिम कम हुने, प्रसूति पश्चात् पाठेघर चाँडै सामान्य अवस्थामा फर्किन सहयोग पुग्ने र शारीरिक पुनःस्थापनामा समेत स्तनपान प्रभावकारी हुने उनको भनाइ थियो ।

पछिल्लो समय स्तनपान गराउँदा महिलाको शारीरिक सौन्दर्यमा असर पर्छ भन्ने भ्रम समाजमा फैलिएको उल्लेख गर्दै उनले यस्तो धारणा वैज्ञानिक आधारविहीन रहेको स्पष्ट पारिन् । “स्तनपानले महिलाको सौन्दर्य घटाउँदैन, बरु उनीहरूको स्वास्थ्य, आत्मविश्वास र प्राकृतिक सौन्दर्यलाई अझ सुदृढ बनाउँछ । नियमित स्तनपानले आमा र बच्चा दुवैलाई दीर्घकालीन फाइदा पुग्छ,” उनले भनिन् ।

बालरोग विशेषज्ञ प्रा. डा. गणेश साहले जन्मेदेखि पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्नेमा जोड दिए । आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने र संक्रमणबाट जोगाउने उनले बताए ।
उनले जन्मिएलगत्तै दूध नआएको भन्दै हतारमा फर्मुला दूध प्रयोग गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । “कहिलेकाहीँ जन्मिएपछि तुरुन्तै दूध नआउन सक्छ वा शिशुले सुरुमा राम्रोसँग दूध नखान सक्छ । त्यसो भन्दैमा फर्मुला दूधतर्फ जानु हुँदैन । आमाको दूधजत्तिको पूर्ण पोषण नवजात शिशुका लागि अर्को कुनै विकल्प हुन सक्दैन,” उनले भने ।

अस्पताल निर्देशक प्रा. डा. निलमणी उपाध्यायले सामाजिक सञ्जाल र केही सार्वजनिक व्यक्तित्वबाट फैलाइएका गलत धारणाका कारण कतिपय महिलाले स्तनपानबाट टाढिन थालेको उल्लेख गर्दै वैज्ञानिक तथ्यमा आधारित सचेतना आवश्यक रहेको बताए । स्तनपानले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

कलेजकी निर्देशक डा. नुरसत जहाँ अन्सारीले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य तथा पोषणका लागि स्तनपान अपरिहार्य रहेको बताइन् । नियमित स्तनपान गर्ने आमा र शिशुको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो रहने उल्लेख गर्दै उनले नेपाली समाजमा स्तनपानको महत्वबारे अझ व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याइन् ।

कार्यक्रमका क्रममा नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरूले सेवाग्राहीलाई स्तनपान गराउने सही तरिका, आमाको दूधका फाइदा तथा स्तनपानसम्बन्धी सामान्य जिज्ञासाको समाधानबारे परामर्श दिएका थिए । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह अन्तर्गत नेपाल मेडिकल कलेजले साताभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
Facebook Comments Box
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि

1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…

TOP
60 Shares