

उद्योगीको घरमा असफल खानतलासीपछि एसपी कविता कटवालसँग २४ घण्टे स्पष्टीकरण, विभागीय कारबाहीको चेतावनी
काठमाडौं । विराटनगरस्थित उद्योगी प्रकाश मुन्दडाको निवासमा गरिएको विवादास्पद प्रहरी खानतलासी प्रकरणमा मोरङका प्रहरी प्रमुख एसपी कविता कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको छ। घटनाको कानुनी आधार, निर्णय प्रक्रिया र प्रहरी परिचालनको औचित्यमाथि प्रश्न उठाउँदै प्रदेश प्रहरी कार्यालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाद्वारा पठाइएको पत्रमा उक्त कारबाहीका क्रममा प्रहरी संगठनले पालना गर्नुपर्ने व्यावसायिकता, कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकता तथा जवाफदेहिताका मापदण्ड पूर्ण रूपमा कार्यान्वयन भए वा नभएको विषयमा स्पष्ट जवाफ मागिएको छ।
स्पष्टीकरण पत्रमा बेनी गोपाल मुन्दडाको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आधार, प्राप्त भनिएको ‘विशेष सूचना’को विश्वसनीयता कसरी परीक्षण गरियो, परिचालन आदेश कसको स्वीकृतिमा जारी भयो, खानतलासीका क्रममा अपनाइएका कानुनी प्रक्रिया के थिए तथा कुनै आपत्तिजनक सामग्री बरामद नभएपछि पनि यति ठूलो स्तरको कारबाही किन आवश्यक ठानियो भन्ने विषय समेटिएको छ।
प्रदेश प्रहरी कार्यालयले तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए वा प्राप्त जवाफ सन्तोषजनक नभए प्रहरी ऐन, प्रहरी नियमावली तथा प्रचलित कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
गत सोमबार बिहान करिब ४ बजेदेखि प्रहरीले ‘विशेष सूचना’को आधारमा भन्दै मुन्दडाको निवासमा व्यापक खानतलासी गरेको थियो। करिब साढे पाँच घण्टासम्म चलेको उक्त अपरेशनका कारण केही समय राजमार्ग र आसपासका सडकमा आवागमनसमेत प्रभावित भएको थियो। तर खोजतलासपछि प्रहरीले कुनै नगद, आपत्तिजनक कागजात वा अन्य प्रमाण बरामद नगरी टोली फिर्ता भएको थियो।
घटनापछि प्रहरीको सूचनाको विश्वसनीयता, कारबाहीको औचित्य र अपनाइएको कार्यशैलीबारे विभिन्न तहबाट प्रश्न उठ्न थालेका थिए। त्यसपछि कोशी प्रदेश प्रहरी कार्यालयले औपचारिक रूपमा एसपी कटवालसँग स्पष्टीकरण माग्दै घटनाको आन्तरिक समीक्षा प्रक्रिया अघि बढाएको हो।
पछिल्लो समय एसपी कटवालको कार्यशैलीलाई लिएर प्रहरी संगठनभित्र र बाहिर मिश्रित प्रतिक्रिया देखिँदै आएको छ। केहीले उहाँलाई आक्रामक रूपमा अपराध नियन्त्रणमा सक्रिय अधिकृतका रूपमा व्याख्या गरेका छन् भने केहीले पर्याप्त तयारी, तथ्य पुष्टि र कानुनी प्रक्रियाको सुनिश्चितताभन्दा प्रचारमुखी शैलीले अनावश्यक विवाद निम्त्याउने गरेको टिप्पणी गरेका छन्। यद्यपि, यी धारणा सम्बन्धित पक्षहरूको अभिमत मात्र हुन् र यस विषयमा आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन।
समाज
थप सामाग्री-
स्वपहिचान (स्वअनुभूत लैङ्गिक पहिचान/ब्रेन जेण्डर) का आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
-
बारा सीमामा तस्करी संरक्षणको आरोप : बिओपी बरैनियामा ‘घुमुवा’ परिचालन गरिएको दाबी, संगठनभित्रै चर्चा
-
आज साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
-
बौद्धका डीएसपी रोक्का तानिए, तर मुद्दा शाखाका अधिकारीमाथि किन मौनता ? अनुसन्धानको घेरामा उठ्यो प्रश्न
-
आज साउन १८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
सुरक्षा समितिको निर्णय कागजमै सीमित : सुन्धाराका रात्रिकालीन व्यवसाय राति अबेरसम्म सञ्चालन, प्रहरी भूमिकामाथि प्रश्न
२ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रका डान्सबार, दोहोरी, क्लब, लाउन्ज तथा रात्रिकालीन…





