संविधानको रक्षा र राष्ट्रिय एकताका लागि संविधान पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, लोकतान्त्रिक उपलब्धिको संरक्षण र राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधान पक्षधर शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षणका लागि एकता अपरिहार्य रहेको बताएका हुन् ।

ओलीले संविधान निर्माणका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संविधान प्राप्तिको यात्रामा योगदान पुर्‍याउने सबैप्रति सम्मानसमेत प्रकट गरेका छन् ।

संविधान जारी भएलगत्तै मुलुकले भोग्नुपरेको नाकाबन्दीजस्तो कठिन परिस्थितिलाई स्मरण गर्दै ओलीले त्यस्ता चुनौतीले संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने प्रेरणा दिएको उल्लेख गरेका छन् ।

संविधान निर्माणको प्रक्रिया सहज नभएको उल्लेख गर्दै उनले विभिन्न राजनीतिक, सामाजिक तथा राष्ट्रिय चुनौतीबीच संविधान निर्माण भएको बताए । संविधान जारी भएपछि आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण गर्नुका साथै राज्यका संरचनात्मक आधारहरू विकास गर्दै संविधान कार्यान्वयनलाई अघि बढाएको ओलीको दाबी छ ।

उनले संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक अधिकार, सामाजिक न्याय, समावेशिता र जनताको राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै मुलुकलाई स्थायित्व, समृद्धि र राष्ट्रिय एकताको बाटोमा अघि बढाउन सबै संविधान पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

संविधान दिवसलाई राष्ट्रिय उपलब्धिको स्मरण गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै ओलीले संविधानको मर्म र भावनाअनुसार यसको प्रभावकारी कार्यान्वयन तथा संरक्षणमा सबै नेपालीको साझा भूमिका आवश्यक रहेको बताएका छन् ।

Facebook Comments Box
TOP
15 Shares