
असोज ८ देखि १२ सम्म भीषण वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा असोज ८ गतेदेखि १२ गतेसम्म वर्षाको गतिविधि व्यापक रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार उक्त अवधिमा देशका अधिकांश भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार ईसीएमडब्लूएफ, जीएफएस र आइकनलगायत प्रमुख अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलहरूको विश्लेषणले असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न भूभागमा उल्लेख्य वर्षाको सम्भावना देखाएको छ। उनका अनुसार पूर्वदेखि पश्चिमसम्म वर्षाको प्रभाव देखिए पनि पूर्वी तथा मध्य नेपालमा यसको प्रभाव तुलनात्मक रूपमा बढी र लामो समयसम्म रहन सक्ने देखिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा लगातार वर्षा हुने सम्भावना रहेको छ। ती क्षेत्रमा भारी वर्षाको सम्भावना विभिन्न पूर्वानुमान मोडेलले समेत देखाएका कारण जोखिमप्रति थप सचेत हुनुपर्ने मौसमविद्हरूको सुझाव छ। मधेस र कर्णाली प्रदेशका केही भूभागमा पनि दुईदेखि तीन दिनसम्म भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताइएको छ। सुदूरपश्चिममा भने विभिन्न मौसम मोडेलबीच पूर्वानुमानमा केही फरक देखिएको छ।
असोज ९ र १० गते वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी पहाडी तथा हिमाली भूभागमा लामो समयसम्म वर्षा हुँदा नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै कमजोर भू–भागमा पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै गएसँगै त्यसबाट नेपालतर्फ जलवाष्पयुक्त हावा भित्रिने सम्भावना छ। यसको प्रभावले बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि थप बढ्न सक्ने देखिएको छ।
विभागले जारी गर्ने मौसमसम्बन्धी चेतावनी तथा पूर्वानुमानमा असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको वर्गीकरणअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुँदा भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।
मौसमविद् पोखरेलले विभिन्न पूर्वानुमान मोडेलमा वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे केही फरक देखिए पनि भारी वर्षाको सम्भावना भने निरन्तर देखिएको बताएका छन्। केही मोडेलले निश्चित स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने संकेत गरेका छन्। यस्तो अवस्था देशभर एकै किसिमले नपरी निश्चित भूभागमा केन्द्रित हुन सक्ने भएकाले पूर्वानुमानलाई सम्भावित जोखिमको संकेतका रूपमा लिएर समयमै तयारी गर्नुपर्ने उनको सुझाव छ।
सम्भावित वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिमसमेत बढ्न सक्ने भएकाले पदयात्रा तथा पर्वतारोहणमा जानेहरूले मौसमको अवस्था र आधिकारिक सूचनालाई विशेष ध्यान दिनुपर्ने देखिएको छ।
सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले पनि पूर्वतयारीलाई तीव्रता दिएको छ। गृहमन्त्री सुधन गुरुङ तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम विज्ञान विभागमा पुगेर विभागका महानिर्देशक अर्चना श्रेष्ठसहित मौसमविद् तथा सम्बन्धित विज्ञसँग सम्भावित मौसमी जोखिम र आवश्यक तयारीबारे जानकारी लिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण र सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटरलगायत आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित प्रदेश सरकार, स्थानीय तह तथा स्वयंसेवकलाई सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ।
चाडपर्व नजिकिँदै गर्दा हुनसक्ने भारी वर्षाले आवागमन तथा दैनिक जनजीवन प्रभावित पार्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रातिको समयमा जोखिमयुक्त सडक तथा नदी किनारतर्फको यात्रा सकेसम्म टार्न आग्रह गरिएको छ।
विगतका वर्षामा असोज महिनामै भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएको पृष्ठभूमिमा यसपटकको पूर्वसूचनालाई गम्भीरतापूर्वक लिँदै समयमै सावधानी अपनाउनुपर्ने देखिएको छ। मौसमसम्बन्धी आधिकारिक सूचना निरन्तर हेर्ने, जोखिमयुक्त स्थानमा नबस्ने तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्नुलाई सम्भावित क्षति न्यूनीकरणको महत्वपूर्ण उपाय मानिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
२२ घण्टा अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





