प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको आरोपमा यमुनासहित पाँचजना पुर्पक्षका लागि कारागार

धनगढी । कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेको आरोपमा पक्राउ परेकी महिलासहित पाँचजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत कैलालीका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले लम्कीचुहा नगरपालिका–४ का दीपक सुनारको योजनाबद्ध हत्या गरेको आरोपमा पक्राउ परेका उनकी श्रीमती यमुना बिक सुनारसहित पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

बिहीबार भएको थुनछेक आदेशपछि यमुनाका प्रेमी दुर्योधन सुवर्णाकार, टीकापुरका रामराजेश महतो तथा कञ्चनपुरका वीरेन्द्र राना र भीमराज राना पनि पुर्पक्षका लागि कैलाली कारागार चलान भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार अदालतको आदेशपछि पाँचैजनालाई कैलाली कारागार पठाइएको छ।

प्रहरी अनुसन्धानअनुसार गत २१ साउनमा यमुना र दुर्योधनको योजनामा दीपकको हत्या भएको थियो। हत्या गर्न उनीहरूले रामराजेश महतोमार्फत वीरेन्द्र राना र भीमराज रानालाई १ लाख ६० हजार रुपैयाँ सुपारी दिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार योजनाअनुसार यमुनाले आफ्ना श्रीमान् दीपकलाई जानकी गाउँपालिकास्थित अमरावती जंगलमा पुर्‍याएकी थिइन्। त्यहीँ उनको हत्या गरी शव टुक्राटुक्रा पारेर कर्णाली नदीमा बगाइएको प्रहरीको दाबी छ।

अमरावतीस्थित ऐश्वर्य सामुदायिक जंगलमा मासुका टुक्रा फेला परेपछि प्रहरीले परीक्षणका लागि पठाएको थियो। परीक्षणका क्रममा उक्त मासु मानिसको भएको पुष्टि भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा यमुना र उनका प्रेमी दुर्योधनको योजनामा दीपकको हत्या भएको खुलेको प्रहरीको दाबी छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा पाँचैजनालाई पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको थियो। अदालतको थुनछेक आदेशसँगै उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाइएको हो।

 

Facebook Comments Box
TOP
15 Shares