रोशी खोलामा सतर्कता तह पार, बीपी राजमार्गअन्तर्गत गिम्दीमा पहिरोले सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको जलसतह सतर्कता तह पार गरेपछि तल्लो तटीय तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पनौतीस्थित रोशी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी निरन्तर बढ्दो क्रममा रहेको छ। बाढी पूर्वानुमान महाशाखाले रोशी खोलाको तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान हुने गरेका स्थानका बासिन्दालाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

यसैबीच, बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको गिम्दीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। लगातार वर्षा भइरहेकाले पहिरो हटाउने कार्यमा समेत कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न आग्रह गरेको छ।

यात्रु तथा सवारी चालकले स्थानीय प्रहरी, प्रहरीको १०० नम्बर वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

Facebook Comments Box
TOP
15 Shares