आज देशभर भारी वर्षाको सम्भावना, लुम्बिनी र गण्डकीमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको छ। उक्त प्रणाली उत्तर–पश्चिम हुँदै उत्तर–उत्तर पश्चिमतर्फ सर्ने र आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने सुदूरपश्चिममा आंशिक बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभरको मौसम अधिकांशतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने तथा मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान छ।
आज रातिसमेत देशभर अधिकांश भूभागमा बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा, कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने तथा मधेस प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box
TOP
15 Shares