कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक ठप्प, जोखिम मोलेर यात्रा नगर्न आग्रह

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा ठूलो पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन ठप्प भएको छ। पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई अत्यन्तै सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रहरीले समेत सडकको अवस्था सामान्य नभएको भन्दै जोखिम मोलेर यात्रा नगर्न र प्रहरीको निगरानी तथा सुरक्षा व्यवस्थालाई छल्दै लुकीछिपी यात्रा नगर्न आग्रह गरेको छ। पहिरोका कारण थप दुर्घटना तथा मानवीय क्षतिको जोखिम रहेकाले अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुरक्षाकर्मीले अनुरोध गरेका छन्।

सुरक्षित स्थानमा रोकिएर सडक खुल्ने अवस्था नआएसम्म पर्खन आग्रह गर्दै प्रहरीले भनेको छ, “ज्यान रहेपछि यात्रा गर्न सकिन्छ, तर जोखिम मोलेर यात्रा गर्नु हुँदैन।”

सम्बन्धित निकायले पहिरो हटाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। सडकको अवस्था सामान्य नभएसम्म यात्रुले वैकल्पिक मार्ग र आधिकारिक सुरक्षा सूचनालाई प्राथमिकता दिन आग्रह गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares