कलंकीमा ‘हप्ता’ नदिए ज्यान मार्ने धम्की, ३० वर्षीय भुपाल जंग खड्का पक्राउ

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा बसेर ठेक्कापट्टाको रकम माग गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्दै आएका ३० वर्षीय भुपाल जंग खड्का रहेका छन्।

प्रहरीका अनुसार ठेक्कापट्टाको काम गरेबापत रकम नदिए ज्यान लिने धम्की दिँदै अश्लील शब्द प्रयोग गरेर फोन तथा म्यासेजमार्फत रकम माग गरेको आरोपमा खड्काविरुद्ध प्रहरी वृत्त थानकोटमा जाहेरी परेको थियो।

जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले खड्कालाई असोज २ गते कलंकी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका खड्कामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस घटनामा खड्कालाई कुनै राजनीतिक दलसँग जोड्ने दाबीबारे प्रहरीले औपचारिक रूपमा पुष्टि गरेको छैन।

Facebook Comments Box
TOP
15 Shares