बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प, दर्जनौँ सडकखण्डमा यातायात अवरुद्ध

काठमाडौँ । निरन्तरको वर्षा, बाढी, पहिरो तथा खोलामा पानीको बहाव बढेपछि देशभरका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका दर्जनौँ महत्वपूर्ण सडकखण्डमा गम्भीर अवरोध सिर्जना भएको छ।

मुख्य राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायत स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तर वर्षा भइरहेकाले स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। सडक विभागले भने विभिन्न स्थानमा पहिरो हटाउने काम अघि बढाएको जनाएको छ।

बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा सडक अवरुद्ध भएको छ। पहिरोका साथै कतिपय स्थानमा डाइभर्सनसमेत बगेपछि राजमार्ग सञ्चालनमा ल्याउन निरन्तर प्रयास भइरहेको छ।

कर्णाली राजमार्गअन्तर्गत गगने खोला तथा नाग्म–जुम्लाको राँका क्षेत्रलगायत विभिन्न स्थानमा पहिरो र ढुंगा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन लोडरसहितका मेसिन र प्राविधिक टोली परिचालन गरिएको छ।

सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी सडकखण्डको सोलुखोला नजिक सडक भासिएपछि यातायात ठप्प भएको छ। थप वर्षा नभए आज साँझसम्म मेसिन प्रयोग गरी ‘ब्याक कटिङ’ गरेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको सडक विभागले जनाएको छ।

कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइए पनि ललितपुरतर्फ चपली र तकुर्चेलगायत स्थानमा काम जारी छ। ती स्थानमा काम सम्पन्न भए आज बिहान ११ बजेपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरिएको छ।

मध्यपहाडी राजमार्गअन्तर्गत निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ। कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ को बेलबगरमा ठूलो पहिरो गएको छ। दुवै स्थानमा पहिरो हटाउन आवश्यक मेसिन तयारी अवस्थामा राखिएको छ।

तमोर करिडोरअन्तर्गत छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ। पानीको बहाव घटेपछि सडक खुलाउने तयारी गरिएको छ।

राप्ती राजमार्गको कपुरकोट तथा बागलुङ–बेनी सडकको हुलाके क्षेत्रमा खसेको पहिरो हटाउन मेसिन परिचालन गरिएको छ। भालुवाङ–चकचके–लिवाङ सडकखण्डमा पनि पहिरो हटाउने काम जारी छ। सो सडकखण्डमा साना सवारीसाधन भने सावधानीपूर्वक सञ्चालन भइरहेका छन्।

लगातारको वर्षा र बाढी–पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला थप बिग्रन सक्ने भएकाले सडक विभागले यात्रु तथा सवारी चालकलाई अत्यावश्यक अवस्थामा बाहेक जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सडक अवरोधसम्बन्धी ताजा सूचना हेरेर अघि बढ्न विभागले अनुरोध गरेको छ।

Facebook Comments Box
TOP
15 Shares