सुस्तामा नारायणीको बाढी: १६५ घर डुबानमा, सयौँ परिवार उच्च जोखिममा

बुटवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको बाढी पस्दा १६५ घरपरिवार प्रभावित भएका छन्। नदीमा पानीको बहाव निरन्तर बढिरहेका कारण सुस्ताका अन्य बस्तीसमेत उच्च जोखिममा परेका छन्।

शुक्रबारदेखि थारु टोलमा पस्न थालेको बाढीका कारण ७८ घरपरिवारलाई सुस्तामै निर्माण गरिएको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो। शुक्रबार राति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिए।

उनका अनुसार नारायणी नदीमा पानीको बहाव अझै बढ्ने क्रममा रहेकाले जोखिममा रहेका परिवारलाई नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ। कच्ची घरमा बाढी पसेपछि प्रभावित स्थानीयको जनजीवन कष्टकर बनेको छ।

शनिबार बिहान ७ बजे गरिएको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ। नदीको धार परिवर्तन भएर सुस्ता गाउँतर्फ सोझिएपछि करिब १ लाख क्युसेक पानीको बहाव पुग्नेबित्तिकै सुस्तामा बाढी पस्ने गरेको वडा सदस्य आदम खानले बताए।

नदीको सतह निरन्तर बढिरहेका कारण सुस्ताका सबै बस्ती जोखिममा रहेको खानको भनाइ छ। उनका अनुसार निर्माणाधीन तटबन्धको काम भारतीय पक्षले रोकेपछि करिब १३२ मिटर क्षेत्र अझै निर्माण हुन बाँकी छ। सोही क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बाबु खानले बताए।

बाढीका कारण सुस्ताको बस्तीमा मात्रै नभई उखु खेतीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा परेका परिवारलाई आवश्यक परे तत्काल उद्धार गर्न सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले नदीको बहाव र बाढीको अवस्थालाई निरन्तर निगरानी गरिरहेको बताए।

Facebook Comments Box
TOP
15 Shares