
पूर्वप्रधानन्यायाधीश जबरा राति ३ बजे निवासबाट पक्राउ, पक्राउ पुर्जीबारे प्रश्न

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको छ। जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले राति करिब ३ बजे घरबाटै पक्राउ गरेको स्रोतले जनाएको छ। सार्वजनिक रूपमा उपलब्ध विवरणअनुसार उनलाई के कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन।
स्रोतका अनुसार जबरालाई ‘ठूलो अनुचित लेनदेन’सँग सम्बन्धित आरोपमा पक्राउ गरिएको हो। उक्त आरोपसँग सम्बन्धित प्रमाणसमेत प्रहरीसँग रहेको दाबी स्रोतले गरेको छ। तर, आरोपको प्रकृति, सम्बन्धित व्यक्ति वा कारोबार तथा प्रहरीले संकलन गरेको भनिएको प्रमाणबारे अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
जबरालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का स्वयं टोलीसहित महाराजगञ्ज पुगेको स्रोतले जनाएको छ। कार्यालय प्रमुख कार्यालयबाहिर रहेका बेला राति अकस्मात् मौखिक आदेश आएपछि उनी स्वयं जबरालाई नियन्त्रणमा लिन पुगेको दाबी स्रोतको छ।
स्रोतका अनुसार जबराविरुद्ध कुनै मुद्दा दर्ता नभएको र पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जीसमेत जारी नभएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई काठमाडौंकै एक प्रहरी कार्यालयमा राखिएको बताइएको छ।
घटनाबारे जानकारी लिन उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रामेश्वर कार्कीलाई सम्पर्क गर्दा आफूलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
सामान्यतया प्रहरीले कसैलाई नियन्त्रणमा लिएपछि सम्बन्धित कार्यालयको सूचना संयन्त्रमार्फत घटनाबारे जानकारी गराउने अभ्यास रहे पनि पूर्वप्रधानन्यायाधीशजस्तो उच्च संवैधानिक पद सम्हालिसकेका व्यक्तिलाई राति नियन्त्रणमा लिइएको घटनाबारे कार्यालयकै सूचना अधिकारी अनभिज्ञ रहेको विषयले घटनाको प्रक्रिया र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएको छ।
जबराको पक्राउसँगै पक्राउ पुर्जीको अवस्था, राति आएको भनिएको मौखिक आदेश तथा ‘ठूलो अनुचित लेनदेन’सँग जोडिएको आरोपबारे थप प्रश्न उठेका छन्। यद्यपि, यी विषयमा प्रहरीले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी छ।
पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध यसअघि प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए। पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासले महाअभियोगसम्बन्धी रिट खारेज गर्दै त्यसको औचित्य समाप्त भएको ठहर गरेको सार्वजनिक विवरण छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१५ घण्टा अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





