
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले ‘सुरक्षित स्थान’मा पठाएको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई कार्यालयबाट सुरक्षित स्थानमा पठाइएको बताए पनि त्यो स्थान कहाँ हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।
‘उहाँलाई सुरक्षित स्थानमा, उहाँले भनेकै स्थानमा यहाँबाट पठाइएको छ,’ एसएसपी खड्काले भने । सुरक्षाको संवेदनशीलताका कारण स्थान खुलाउन नमिल्ने उनको भनाइ छ ।
तर, प्रहरीले जबरालाई कहाँ र कुन अवस्थामा राखेको थियो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक नगर्दा घटनाले थप प्रश्न जन्माएको छ । सुरक्षा चुनौतीको कारण देखाउँदै पूर्वप्रधानन्यायाधीशलाई रातारात निवासबाट नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको प्रहरीको दाबी छ । तर त्यसपछि उनको अवस्थाबारे समेत स्पष्ट जानकारी नदिइनु र भेटघाटमा रोक लगाइनुले प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।
गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली महाराजगञ्जस्थित जबराको निवासमा पुगेको थियो । त्यस क्रममा उनलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको सूचना पाएपछि सुरक्षाका लागि कार्यालयमा ल्याउनुपरेको जिकिर गर्दै आएको छ ।
घटनाको अवस्था बुझ्न तथा जबरासँग भेट गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीसमेत अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर आयोगको टोलीलाई समेत जबरासँग भेट गर्न दिइएन । कार्यालयको गेटमा करिब ४५ मिनेटसम्म कुर्दा पनि भेटको अनुमति नपाएपछि आयोगको टोली त्यत्तिकै फर्किएको थियो ।
सुरक्षा संवेदनशीलताको नाममा राज्यको एउटा संवैधानिक निकायका प्रतिनिधिलाई समेत नियन्त्रणमा रहेका व्यक्तिसँग भेट गर्न नदिनु आफैंमा गम्भीर विषय बनेको छ । प्रहरीले सुरक्षा जोखिम देखाएको भए पनि त्यसको प्रकृति, आधार र जबरालाई कार्यालयमा राख्नुपर्ने वास्तविक कारणबारे पर्याप्त जानकारी सार्वजनिक गरिएको छैन ।
घटनापछि कानुनका जानकारहरूले पनि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कुनै व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया, मानव अधिकार र पारदर्शिताको न्यूनतम मापदण्ड पालना गर्नुपर्ने उनीहरूको तर्क छ ।
पूर्वप्रधानन्यायाधीशजस्तो उच्च संवैधानिक जिम्मेवारी सम्हालिसकेका व्यक्तिलाई रातको समयमा निवासबाट नियन्त्रणमा लिने, त्यसपछि सुरक्षा कारण देखाउँदै गोप्य स्थानमा राख्ने र मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने घटनाले प्रहरीको दाबीभन्दा बाहिरका प्रश्नलाई जन्म दिएको छ ।
प्रहरीले भने जबरालाई कुनै गैरकानुनी ढंगले नियन्त्रणमा नलिइएको र सुरक्षा जोखिमका कारण आवश्यक कदम चालिएको दाबी गर्दै आएको छ । तर ‘सुरक्षित स्थान’ भन्दै स्थानसमेत गोप्य राखिएको अवस्थाले घटनाबारे थप पारदर्शिता आवश्यक देखिएको छ ।
अब मुख्य प्रश्न यही हो जबरालाई कुन कानुनी आधारमा नियन्त्रणमा लिइयो ? उनलाई कहाँ राखिय? सुरक्षा खतरा के थियो ? र राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न किन रोकियो ? यी प्रश्नको स्पष्ट जवाफ नआएसम्म ‘सुरक्षा’को नाममा भएको प्रहरीको यो कारबाहीमाथिको बहस रोकिने देखिँदैन ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१३ घण्टा अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





