
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले मिटरब्याज तथा अवैध आर्थिक कारोबारमाथि निगरानी र अनुसन्धान अघि बढाएसँगै पुराना मिटरब्याजीका रूपमा चर्चा गरिएका वीरेन्द्रलाल श्रेष्ठको विषय पुनः सतहमा आएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुरक्षा निकायबाट अनुसन्धान अघि बढ्न थालेपछि श्रेष्ठ केही समयअघि नेपालबाट बाहिरिएको स्रोतको दाबी छ। उनीमाथि मिटरब्याज, धम्की तथा दबाबमार्फत् ऋणीको सम्पत्ति हत्याएकोदेखि अस्वाभाविक सम्पत्ति आर्जन गरेकोसम्मका आरोप विगतदेखि सार्वजनिक हुँदै आएका छन्।
श्रेष्ठको नाम काठमाडौंमा मिटरब्याज कारोबारसँग जोडिएको पुरानो नाममध्ये एक हो। विगतमा क्यासिनोमा रकम हार्ने व्यक्तिलाई चर्को ब्याजमा पैसा लगाउने र ऋणीको घरजग्गा तथा अन्य सम्पत्तिसँग कारोबार जोडिने गरेको आरोप उनीमाथि लाग्दै आएको विभिन्न सार्वजनिक रिपोर्टमा उल्लेख छ। केही रिपोर्टमा एक लाख रुपैयाँमा दैनिक हजार रुपैयाँसम्म ब्याज असुल्ने गरी कारोबार हुने गरेको दाबी गरिएको छ।
श्रेष्ठमाथि प्रहरी उच्च अधिकारीसँगको सम्बन्ध र उनीहरूको रकमसमेत मिटरब्याजमा परिचालन गरेको आरोपसमेत विगतका समाचारमा उल्लेख छ।
श्रेष्ठको विगतसँग जोडिएको अर्को महत्वपूर्ण विषय भनेको इजाजतप्राप्त हतियार हो। २०७५ जेठ २७ गते तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले मिटरब्याज तथा गुन्डागर्दीसँग जोडिएका व्यक्तिविरुद्ध विशेष कारबाही गर्दै श्रेष्ठसहित केही व्यक्तिका इजाजतप्राप्त हतियार नियन्त्रणमा लिएको थियो। प्रहरीले ती हतियारको दुरुपयोग भएको गुनासो आएपछि कारबाही अघि बढाएको बताएको थियो।
त्यतिबेला सार्वजनिक भएको विवरणअनुसार श्रेष्ठले क्यासिनोमा समेत लगानी गरेका थिए र उनीसँग इजाजतप्राप्त बन्दुक रहेको थियो। प्रहरीमा उनीविरुद्ध धम्की र हतियारको आडमा प्रभाव जमाएको सम्बन्धमा उजुरी परेको विवरणसमेत सार्वजनिक भएका थिए।
मिटरब्याज कारोबारसँग जोडिएका व्यक्तिहरूले प्रहरी अधिकारी तथा राजनीतिक–प्रशासनिक पहुँचको आडमा कारोबार सञ्चालन गर्ने गरेको आरोप नेपालमा लामो समयदेखि उठ्दै आएको छ। केही सार्वजनिक रिपोर्टले श्रेष्ठलगायत व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेको दाबी गरेका छन्।
पछिल्लो समय श्रेष्ठ नेपालबाट बाहिरिएको र अनुसन्धानबाट बच्न विभिन्न माध्यमबाट प्रभाव पार्ने प्रयास गरिरहेको दाबीसमेत स्रोतले गरेको छ। यद्यपि, उनी कुन मुलुकमा छन् भन्नेबारे आधिकारिक निकायबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
यसैबीच, श्रेष्ठ केही समयअघि नेपाल आएर दोलखाको कालिन्चोक पुगेको भिडियोसमेत बाहिरिएको दाबी गरिएको छ। उनीमाथि अनुसन्धान भइरहेको भए नेपाल प्रवेश र आवतजावतका क्रममा पक्राउ नपर्नु तथा सम्बन्धित निकायसँग उनको सम्पर्कबारे प्रश्न उठ्नु स्वाभाविक भए पनि यसबारे प्रहरी वा सम्बन्धित अनुसन्धान निकायको औपचारिक धारणा सार्वजनिक हुन बाँकी छ।
विगतमा काठमाडौंमा मिटरब्याजको कारोबारसँग जोडिएका वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, अरुण सेढाईलगायतका नाम विभिन्न समाचार तथा अनुसन्धानसम्बन्धी रिपोर्टमा आएका छन्। केही रिपोर्टमा उनीहरूको सम्पत्तिको स्रोत र लगानीमाथि सीआईबी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको चासो रहेको उल्लेख गरिएको थियो।
मिटरब्याजबाट अस्वाभाविक सम्पत्ति आर्जन गरी ऋणीको घरजग्गा कब्जा गरेको आरोप लागेका व्यक्तिहरूमाथि राज्यले निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान अघि बढाउनुपर्ने आवाज पनि उठ्दै आएको छ। अनुसन्धानको क्रममा दोष प्रमाणित भए कानुनअनुसार कारबाही र आरोप पुष्टि नभए सम्बन्धित व्यक्तिको प्रतिष्ठा संरक्षण गर्ने गरी प्रक्रिया अघि बढ्नु आवश्यक देखिन्छ।
सरकारले मिटरब्याज र अवैध सम्पत्तिमाथि अनुसन्धानलाई प्रभावकारी बनाउने हो भने वर्षौंदेखि उठ्दै आएका उजुरी, सम्पत्तिको स्रोत, ऋण कारोबार, बैंकिङ गतिविधि तथा सम्बन्धित व्यक्तिसँग जोडिएका प्रहरी–प्रशासनिक सम्बन्धसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ।
श्रेष्ठको हकमा पनि वास्तविकता आरोप र हल्लाबाट होइन, अनुसन्धानबाट खुल्नेछ। राज्यका अनुसन्धान निकायले उनको सम्पत्तिको स्रोत, विगतको मिटरब्याज कारोबार, ऋणीले दिएको भनिएका उजुरी, हतियारसम्बन्धी विगतको कारबाही तथा विदेशमा भएको भनिएको कारोबारबारे प्रमाणका आधारमा छानबिन गरे मात्र वर्षौंदेखि उठ्दै आएको प्रश्नको ठोस जवाफ पाउन सकिनेछ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
१३ घण्टा अगाडि
1.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





