बाढी–पहिरोले चामेमा ठूलो क्षति, पाँच घर बगे; पर्यटकसहित स्थानीय अलपत्र

पोखरा । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामे र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । ठाडो खोला र मर्स्याङ्दी नदीमा आएको बाढीका कारण बस्तीमा लेदो पसेको छ भने कम्तीमा पाँचवटा घर बगेका छन् ।

बाढी र पहिरोको जोखिम बढेपछि स्थानीयवासी राति नै घर छाडेर जङ्गल तथा सुरक्षित डाँडातर्फ भागेका थिए । चामेमा तीन दिनदेखि सम्पर्क विच्छेद भएकोमा केहीबेरअघि सञ्चार सम्पर्क पुनः जोडिएको स्थानीयले बताएका छन् ।

बाढीले चामे जोड्ने प्रमुख पुलहरू बगाएपछि सदरमुकामको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । ठाडो खोलामा आएको बाढीले कृषि ज्ञान केन्द्र आसपासका घरहरूमा क्षति पुर्‍याएको छ भने सदरमुकाममा रहेका दुईवटा काठेपुल पनि बगाएको छ । कोतो र तिल्चे जोड्ने पुलहरू यसअघि नै बाढीले बगाइसकेको स्थानीयले बताएका छन् ।

चामेकी सामुदायिक स्वास्थ्य अधिकृत छोडेन याङचेन लामाका अनुसार हालसम्म मानवीय क्षति भएको जानकारी छैन । तर, बाढीले चार–पाँचवटा घर बगाइसकेको उनले बताइन् ।

‘राति साढे ११ बजेतिर सबै जना ज्यान जोगाउन जङ्गलतिर भागेका थियौँ,’ लामाले भनिन्, ‘मानवीय क्षति भएको छैन, तर घरहरू बाढीले लगिसकेको छ ।’

नयाँ बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नसमेत कठिनाइ भएको छ । सदरमुकामका पुलहरू बगिसकेकाले आवतजावतमा समस्या भएको हो । झोलुङ्गे पुलसमेत निरन्तर माटो र लेदो खसिरहेकाले जोखिममा परेको स्थानीयले बताएका छन् ।

मर्स्याङ्दी नदीको बहाव अत्यधिक बढेकाले नदी किनारका बस्तीहरू उच्च जोखिममा छन् । तातोपानी क्षेत्रमा पनि पहिरोले क्षति पुर्‍याएको छ । मौसममा केही सुधार आए पनि माथिल्लो क्षेत्रबाट लेदो र ढुङ्गा खस्ने क्रम नरोकिएकाले जोखिम कायमै रहेको स्थानीयले बताएका छन् ।

जोखिममा परेका स्थानीयवासीलाई जिल्लाका विभिन्न सरकारी कार्यालय, अस्पताल, नापी कार्यालय, जनस्वास्थ्य कार्यालय तथा प्रहरी ब्यारेकमा राखिएको छ । तर, विस्थापितहरूलाई खानेकुरा तथा ओढ्ने–ओछ्याउने कपडाको समस्या हुन थालेको छ ।

‘अहिले हामी विभिन्न कार्यालयमा बसिरहेका छौँ । तर, यहाँ ओढ्ने–ओछ्याउने कपडा र खानाको निकै समस्या छ,’ लामाले भनिन्, ‘बच्चाहरू र बूढाबूढीलाई सम्हाल्न निकै गाह्रो भएको छ ।’

बाढी र पहिरोका कारण सडक तथा पुलहरू भत्किएपछि चामेमा पदयात्राका लागि पुगेका थुप्रै पर्यटकसमेत अलपत्र परेका छन् । सडक सञ्जाल अवरुद्ध भएकाले उनीहरूलाई तत्काल सुरक्षित स्थानमा उद्धार गर्नुपर्ने स्थानीय व्यवसायीहरूले बताएका छन् ।

भौगोलिक रूपमा सम्पर्क विच्छेद भएको र खाद्यान्न अभाव हुन थालेकाले अलपत्र परेका पर्यटक, बिरामी, बालबालिका तथा वृद्धवृद्धालाई तत्काल हेलिकप्टरमार्फत उद्धार गर्न स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।

Facebook Comments Box
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
११ घण्टा अगाडि

1.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…

TOP
30 Shares