
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे

काठमाडौं । विगत चार दिनदेखिको निरन्तर वर्षाका कारण गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा यस वर्षको सोह्र श्राद्ध प्रभावित भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको हो।
सोह्र श्राद्धको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ। विगतका वर्षमा प्रतिपदाको दिन गोकर्णेश्वर क्षेत्रमा सयौँ मानिस श्राद्धका लागि आउने गरे पनि यस वर्ष निरन्तर वर्षाका कारण आगमन निकै घटेको छ।
गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतका अनुसार आइतबार साँझसम्म ६६ जनाले मात्रै श्राद्धका लागि रसिद काटेका छन्। समितिले श्राद्धस्थलको सरसफाइका लागि प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क लिने गरेको छ।
निरन्तरको वर्षाका कारण श्राद्ध गर्न आउने श्रद्धालु प्रभावित भएको अध्यक्ष महतले बताए। सामान्य अवस्थामा सोह्र श्राद्धको पहिलो दिन यहाँ उल्लेख्य संख्यामा मानिस आउने गरेका थिए।
गोकर्णेश्वर मन्दिरभन्दा करिब ५०० मिटर माथि रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा पनि श्राद्ध गर्नेको संख्या निकै कम देखिएको छ। कान्तिभैरव मन्दिर व्यवस्थापन समितिकी कर्मचारी कोपिला थापाका अनुसार आइतबार बिहानदेखि हालसम्म ६ जनाले मात्रै श्राद्धका लागि रसिद काटेका छन्। पानी नपरेको अवस्थामा भने उक्त क्षेत्रमा दैनिक १०० जनाभन्दा बढी मानिस श्राद्धका लागि आउने गरेका थिए।
राजधानीमा डेरा लिएर बस्ने धेरै मानिस पितृको श्राद्ध गर्न गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाम पुग्ने गर्छन्। डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने धार्मिक मान्यता राख्ने तथा डेरामा पर्याप्त ठाउँ नहुनेहरू विशेषगरी तीर्थस्थलमा पुगेर श्राद्ध गर्ने गरेका छन्।
धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार डेरामा पर्याप्त ठाउँ भएमा त्यहीँ श्राद्ध गर्न शास्त्रीय रूपमा कुनै बाधा छैन। भाडा तिरेर बसेको अवधिसम्म उक्त स्थान आफ्नै प्रयोगमा हुने भएकाले डेरामै श्राद्ध गर्न धर्मशास्त्रीय रूपमा निषेध नरहेको उनले बताए।
तर, डेरामा ठाउँको अभाव भएर तीर्थस्थलमा गई तिथिको श्राद्ध गर्नुपर्ने अवस्था भएमा पहिले तीर्थ श्राद्ध गरेर मात्र तिथि वा सोह्र श्राद्धको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् नेपालले बताए।
उनका अनुसार तीर्थ श्राद्ध र तिथि वा सोह्र श्राद्ध एकै दिन गर्नुपर्ने भए तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नगरी छुट्टै व्यक्तिबाट गराउनुपर्ने हुन्छ। दुवै श्राद्ध एउटै पुरेतबाट गराएर सिदा तथा दक्षिणा एउटै ब्राह्मणलाई दिन नहुने शास्त्रीय व्यवस्था रहेको उनले बताए।
यस वर्ष लगातारको वर्षाले सोह्र श्राद्धको सुरुवातमै श्रद्धालुको आवागमन प्रभावित भएपछि गोकर्णेश्वर र कान्तिभैरव उत्तरगया क्षेत्रमा विगतको तुलनामा चहलपहल निकै कम देखिएको छ।
समाज
थप सामाग्री-
नारायणीको बाढी सुस्तामा पसेपछि ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
-
मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
-
निरन्तर वर्षाले गोकर्णेश्वरमा सोह्र श्राद्ध प्रभावित, पहिलो दिन ६६ जनाले मात्रै रसिद काटे
-
“मिटरब्याजको पुरानो साम्राज्यमाथि सरकारको नजर, वीरेन्द्रलाल श्रेष्ठ अनुसन्धानको घेरामा”
-
सुरक्षाको नाममा चोलेन्द्र जबरामाथि प्रहरीको ‘गोप्य’ व्यवहार, मानव अधिकार आयोगलाई समेत भेट्न दिइएन
सुरक्षा दिन गएको प्रहरी कि पक्राउ गर्न ? अब जवाफ अपराध अनुसन्धान कार्यालयले दिनैपर्छ
११ घण्टा अगाडि
1.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर…





